समाजिक फीड
जनकपुरधाम, कात्तिक १४ गते ।
जनकपुरधाममा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सवको तयारी सुरु भएको छ ।
एक सातासम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने विवाहपञ्चमीलाई भव्य र व्यवस्थित रुपमा मनाउनका लागि बिहीबार जानकी मन्दिर परिसरमा सर्वपक्षीय बैठक सम्पन्न भएको हो ।
जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले आगामी मंसिर ९ गते मनाइने विवाहपञ्चमी महोत्सवको तयारीमा जुट्न सबै सरोकारवालालाई आग्रह गरे । उनले विवाहपञ्चमीमा देश–विदेशका हजारौँ श्रद्धालु यहाँ आउने भएकाले सरसफाइ र आतिथ्यमा विशेष ध्यान दिन आह्वान गरे ।
विवाहपञ्चमी महोत्सव तयारीका लागि शान्ति सुरक्षा, प्रचार–प्रसार, बजार व्यवस्थापन, रंगभूमी गेट–पण्डाल, यातायात, ट्राफिक र स्वास्थ्य उपसमितिसहित विभिन्न उपसमिति गठन गरिएको जानकारी महन्थ दासले बताए ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले विवाहपञ्चमीलाई सभ्य, भव्य र व्यवस्थित बनाउन सबैलाई आ–आफ्नो तर्फबाट सहयोग र योगदान गर्न अनुरोध गरे ।
सर्वदलीय बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल, धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवर, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल प्रसाद साह, उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर शाही, नेपाल विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख सुनिल कुमार महतो, एनप्याब्सनका नगर अध्यक्ष दिपक कुमार ठाकुर, गौ संरक्षण मञ्चका अध्यक्ष जगदिश महासेठ लगायतको उपस्थिति रहेको थियो ।
यस वर्षको विवाहपञ्चमी महोत्सव अन्तरगत मंसिर ४ गते नगरदर्शन, ५ गते फूलबारी लिला, ६ गते धनुष यज्ञ, ७ गते तिलकोत्सव, ८ गते मटकोर, ९ गते सिताराम स्वयंवर तथा विवाह महोत्सव र १० गते रामकलेवा रहेको छ ।