सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १३ गते ।
सप्तरीमा प्रहरीमाथि हातपात र ढुंगा प्रहार गरेको आरोपमा तीनजना पक्राउ जनकपुरधाम । सप्तरीमा प्रहरीमाथि हातपात तथा ढुंगा प्रहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा शम्भुनाथ नगरपालिका वडा नं. १ बस्ने ३५ वर्षीय रोहित कुमार चौधरी, २४ वर्षीय शशिकान्त चौधरी र रुपनी गाउँपालिका १ रायपुरका ३६ वर्षीय मिथुन कुमार चौधरी रहेका छन् ।
शम्भुनाथ १ मा प्रहरीमाथि हातपात र ढुंगा प्रहार भएको घटनामा तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले पक्राउ परेका तीनैजना उपर कार्यवाही प्रक्रिया अगाडि बढाउने बताए । बुधबार राति करिब साढे ८ बजेको समयमा शम्भुनाथ १ गोविन्दचौकस्थित खाजा पसलको सटरमा केही व्यक्तिहरुले ढुंगामुढा गरिरहेको जानकारी आएपछि प्रहरीलाई खबर गरेको वडा अध्यक्ष जिवछ साहले बताए ।
त्यसपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय रुपनीबाट पुगेको प्रहरी टोलीले ढुंगामुढा गर्नेहरुलाई सम्झाउने प्रयास गरेकोमा उनीहरुलाई नै हातपात र गिट्टी तथा ढुंगा प्रहार हुँदा दुई जना प्रहरी घाइते भएका छन् ।
प्रहरी नायव निरीक्षक तुलसी यादव र प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । तुलसीको टाउको, हात र घुँडामा चोट लागेकोमा मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचार भइरहेको छ भने र रञ्जितको सामान्य उपचार गरिएको छ ।