सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १३ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आगामी कार्तिक २२ गते विश्वासको मत लिने भएका छन् । बुधबार साँझ मुख्यमन्त्री निवासमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले कार्तिक २२ गते विश्वासको मत लिने निर्णय गरेको हो ।
विश्वासको मत लिइसकेपछि मुख्यमन्त्री सोनलले मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् ।
बैठकमा सरकारलाई विश्वासको मत दिने आश्वासन दिएको नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका सांसदको पनि सहभागिता थियो । यी दुई दलको एकएकजना सांसद छन् । असोज २९ गते पाँच दल –जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीको ५६ सांसदको समर्थनमा सोनल नियुक्त भएका थिए ।
विश्वासको मत लिन दलहरुसँग समन्वय भइरहेको मुख्यमन्त्री सोनलले बताए । अब विश्वासको मत लिँदा ५८ सांसदको समर्थन पुग्नेमा सरकार आशावादी रहेको एक नेताले बताए ।
१०७ सदस्य प्रदेशसभामा सरकारको लागि आवश्यक ५४ मत चाहिन्छ । तर तीनजना सांसद निलम्वित छन् । हाल गठबन्धनमा जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ जना सांसद छन् ।