सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १२ गते ।
बारामा छठ हेर्न निस्केका युवक अर्को पोखरीमा डुबेको अवस्थामा मृत फेला परेका छन् । बाराको महागढीमाई नगरपालिका–५ बगडमपुर बस्ने ध्रुव सहनीका १९ वर्षीय छोरा भोला सहनी मंगलबार दिउँसो पोखरीमा मृत फेला परेका हुन् । मृत फेला पर्ने पोखरीमा छठ भने हुँदैन ।
सोमबार साँझ छठ हेर्न भनि भोला घरबाट निस्केका थिए । अबेर रातिसम्म घर नफर्केपछि मंगलबार बिहान परिवारजनले प्रहरीलाई खबर गरेका थिए । खोजतलासको क्रममा गाउँभन्दा पर दहियार टोल निवासी ललन यादवको ठूलो पोखरीमा सहनीको शव फेला परेको प्रहरीले जनाएको छ ।
पोखरीमा डुबेको अवस्थामा उनको शव फेला परेको बाराका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
शव भेटिएको ४ र ५ को सिमानामा पर्ने बाँसघारी नजिक बाँसघारी क्षेत्रमा सहनीका व्यक्तिगत सामान स्टिलको बाला, जुत्ता, पर्स, कालो हुडी, मोबाइल, घडी र इयरबडलगायतका सामग्री भेटिएको छ ।
घटना शंकास्पद रहेको प्रहरीले उनकासँगै निस्केका साथीहरुसँग सोधपुछ गरिरहेको र थप अनुसन्धान अघि बढाएको डिएसपी पण्डितले बताए ।