सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ७ गते ।
मधेस सरकार विस्तार एवं विश्वासको मत लिने सम्बन्धमा सत्तरुढ दलहरुको बैठक बस्दै जनकपुरधाम ।
मधेश प्रदेश सरकार विस्तार तथा विश्वासको मतबारे आज सत्तापक्ष दलहरूको बैठक बस्दैछ । रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार बिहान ११ बजेदेखि सत्ताघटक जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बस्न लागेको हो ।
आज बस्न लागेको बैठकमा सरकार विस्तार, मन्त्रालय भागबण्डा, सरकारको टिओआर, सरकारले विश्वासको मत लिने लगायतको विषयमा छलफल हुने एक नेताले बताए ।
ती नेताका अनुसार बैठकमा जनमतबाट फुटेको नयाँ दल जनस्वराज र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा समेट्ने प्रयासबारे छलफल हुनेछ । लोसपाका जितेन्द्र प्रसाद सोनार सोनल गत असोज २९ गते पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । सोनलले असोज ३० गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।
उनले जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट कनिष पटेललाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए । सत्तारुढ दलहरूभित्र मन्त्रालयको भागबण्डा नलाग्दा एक सातासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । बिना विभागीय मन्त्रीले समेत जिम्मेवारी पाउन सकेका छैन ।