Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कात्तिक ५ गते ।

रौतहटको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक बुधबार बिहान एक यात्रुबाहक बसमा अचानक आगलागी भएको छ। आगलागीका कारण बस पूर्णरूपमा जलेर नष्ट भएको छ भने करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको बस सञ्चालकले जानकारी दिएका छन्।

काठमाडौँबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बिहान करिब ७ः२० बजे आगो लागेको हो। प्रारम्भिक अनुसन्धान अनुसार, बसको ब्रेक जाम भएर ब्याट्रीको तार सर्ट हुँदा आगलागी भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङले बताइन्।

डिएसपी लाबुङका अनुसार, ब्रेक जाम भएपछि बस एक्कासी रोकिएको थियो। यस्तै क्रममा विद्युत सर्ट भई बसमा आगो लागेको प्रारम्भिक तथ्यले देखाएको छ। घटनाको बेलामा बस रोकिनासाथ सबै यात्रुहरू सकुशल बाहिर निस्किन सफल भएकाले मानवीय क्षति भने हुन पाएन।

घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा बारुण यन्त्र प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो। करिब सवा ८ बजे आगो पूर्ण रूपमा निभाइएको प्रहरीले जनाएको छ।

आगलागीका कारण केही समयका लागि पूर्व–पश्चिम राजमार्ग अबरुद्ध भएको भए पनि अहिले सडकमा सवारीसाधनको आवागमन सामान्य भइसकेको डिएसपी लाबुङले जानकारी दिइन्। घटना बारे थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *