सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ४ गते ।
हैजा संक्रमण फैलिएपछि बारा र पर्सामा ८ लाखजनाले हैजाविरुद्धको खोप लगाएका छन्।
सरकारले हैजा संक्रमण तीव्र भएपछि असोज २६ गतेदेखि बारा र पर्सामा खोप अभियान सुरू गरेको थियो।
१० दिनमा पर्सामा ५ लाख ४७ हजार ३११ र बारामा ३ लाख १७ हजार २४२ जनाले हैजा विरुद्धको खोप लिएको परिवार कल्याण महाशाखाले जनाएको छ।
भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका १२ को मुरली टोलबाट हैजा संक्रमण फैलिएको थियो। त्यसपछि वीरगञ्जका अन्य वडा, पर्साका स्थानीय तह र बाराका केही भागमा फैलिएको छ।
सरकारले पर्साका सबै १४ वटै स्थानीय तह र बाराका ६ स्थानीय तहमा एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइरहेको छ।
सरकारले बारा र पर्सामा गरी कुल १० लाख १८ हजार खोप दिइने लक्ष्य राखेकोा छ। हालसम्म ८५ प्रतिशतले खोप लिएका छन्। मुखबाट खुवाइने इयूभिकोल–एस खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो।
यो नेपालको नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भएको छ। यसअघि यो खोप काठमाडौं उपत्यका र कपिलवस्तुमा पनि हैजाविरुद्धको खोप दिइएको थियो।
विज्ञहरुका अनुसार खोप खुवाएको दुई सातापछि खोपको प्रभावकारीता ८२ प्रतिशत देखिएको छ। यो खोप एकवर्ष भन्दा कम उमेरका बालबालि, ज्वरो आइरहेको, झाडापखाला भएको वा कुनै सिकिस्त बिरामी भएको अवस्थामा दिन हुँदैन। तर निको भएपछि खोप दिनुपर्छ।