Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ४ गते ।

दीपावलीको उल्लासमय माहोलकै बीच सर्लाहीका तीन ठाउँमा आगलागी भएको छ । लक्ष्मीपूजाको राती भएका ती आगलागीका घटनामा करिब दुई करोड पचास लाख रुपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

लालबन्दी नगरपालिका–५ मेजरगन्जमा राति करिब साढे ११ बजे कैलाश साहको किराना गोदाममा आगलागी भएको हो।

इँटाले बनेको जस्तापाताले छाएको एकतले गोदाममा लागेको आगो नियन्त्रणका लागि नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकका प्रमुख सेनानी उमेश खड्का र इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको टोली खटिएको थियो। सेनाको दमकल, प्रहरी र स्थानीयवासीको प्रयासपछि करिब एक घण्टापछि आगो नियन्त्रणमा ल्याइएको थियो। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट त्यहाँ झण्डै दुई करोड रुपैयाँ बराबरको किराना सामान नष्ट भएको छ। आगो मैनबत्तीबाट सल्किएको अनुमान गरिएको भएपनि आधिकारिक पुष्टि हुन बाँकी छ।

त्यस्तै, कविलासी नगरपालिका–१ पिपरियामा बब्लु मण्डलको घरमा दीपावलीको दियोबाट आगलागी हुँदा घर र सरसामान जलेर करिब चार लाख ३० हजार रुपैयाँको क्षति भएको अस्थायी प्रहरी पोष्ट पचगछियाले जनाएको छ।

यस्तै, चक्रघट्टा गाउँपालिका–५ का श्यामसुन्दर रायको घरमा विद्युत् सर्ट हुँदा लागेको आगोले कपडा, पंखा र केही नगद जलेर करिब ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।
तीनै स्थानमा सुरक्षाकर्मी र स्थानीयवासीको समयमैको सक्रियताले ठूलो जनधन क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *