Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, असोज ३० गते ।

रौतहटको गौर नगरपालिका–५ स्थित बरहवा पुलबाट नदीमा हाम फालेका अन्दाजी ३५ देखि ४० वर्ष उमेरका एक पुरुषको मृत्यु भएको छ।

बुधबार साँझ करिब ५:१५ बजे ती व्यक्तिले नदीमा हाम फालेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रौतहट, सशस्त्र प्रहरी बल तथा वीर दल गणको टोली तुरुन्तै घटनास्थल पुगेको थियो।

लगत्तै सुरु गरिएको खोजीकार्यका क्रममा साँझ ६:१५ बजे ती पुरुषलाई सोही नदीमा फेला पारिएको थियो। उद्धारपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएको थियो, तर चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका छन्।

हालसम्म मृतकको पहिचान खुलेको छैन। शव प्रादेशिक अस्पताल गौरमै राखिएको छ।

प्रहरीका अनुसार मृतक गहुँगोरो वर्णका, मझौला शरीर, ५ फिट ७ इन्च अग्ला, हरियो फुल भेष्ट र कलेजो रङको फुल ट्र्याक पाइन्ट लगाएको, तथा तराई मूलका जस्ता देखिन्छन्।

उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। साथै, मृतकको हुलिया मेल खाने व्यक्ति वा उनलाई चिनेका व्यक्तिहरूलाई नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *