Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, असोज २९ गते ।

सिरहामा दलित परिवारको घर तोडेको आरोपमा पक्राउ परेका एक जना जनप्रतिनिधि अनुसन्धान पुरा नहुँदै छुट्टेका छन् । सिरहाको कल्याणपुर नगरपालिका९८ अरङस्थित पोखरीको डिलमा बस्दै आएका दलित परिवारको घर तोडफोड घटनामा पक्राउ परेका वडाध्यक्ष रामकिशोर यादवलाई प्रहरीले सरकारी वकिलको अनुमतिमा सोमबार साँझ रिहा गरेको हो ।
गत असोज १७ गते दिउँसो अरङमा स्थानीय राजकुमार पासवान, रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान र सोभित पासवान गरी पाँच जनाको घरमा ५० जनाभन्दा बढीको समूहले विस्थापित हुने गरी तोडफोड र लुटपाट गरेका थिए ।
उक्त घटनामा कांग्रेसबाट ेनिर्वाचित वडाध्यक्ष यादव, स्थानीय प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, मनोज यादव, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायत १३ जनाविरुद्ध आपराधिक उपद्रव शीर्षकमा इलाका प्रहरी कार्यालय, मिर्चैयामा किटानी जाहेरी दर्ता भएको थियो ।
जाहेरी दर्ता भएपछि वडाध्यक्ष यादवसहित गणेश र कैलाश असोज १८ गते पक्राउ परेका थिए भने मनोज असोज २० गते पक्राउ परेका थिए ।
यस मुद्दामा आरोपितलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी प्रावधान रहेपनि वडाध्यक्ष यादवलाई अनुसन्धान पूरा नहुँदै १० दिनमै छाडिएको हो ।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले वडाध्यक्ष यादव हिरासतभित्रै बिरामी परेपछि उनलाई बाहिरै राखेर अनुसन्धान गर्न मिल्ने गरी जिल्ला सरकारी वकिलको कार्यालय, सिरहाको अनुमतिमा रिहा गरिएको दाबी गरे ।
जिल्ला प्रहरी कार्यालयका अनुसार असोज २५ गते दिउँसो अचानक वडाध्यक्षको छाती दुख्न थालेपछि मिर्चैयाकै एक निजी अस्पतालमा भर्ना गरिएको थियो । उपचार चलिरहेकै कारण सोमबार भतिज पर्ने स्थानीय अमरकुमार यादवको हाजिरी जमानीमा वडाध्यक्षलाई रिहा गरिएको प्रहरीको दाबी छ ।
प्रहरीले विरामी भएको कारण छोडेको भनेतापनि वडाध्यक्ष यादव छुटेलगत्तै खुलेआम घुमिरहेको पाइएको छ । मंगलबार उनी दिनभर सार्वजनिक स्थानहरूमा घुमिरहेको देखिएको पीडित परिवारको दावी छ ।
यस घटनाका अन्य आरोपितलाई भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । यो मुद्दामा राजनीतिक तथा आर्थिक चलखेल भएको र यसै कारण दोषीलाई उन्मुक्ति दिने काम भइरहेको पीडित परिवारको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *