सामाजिक फीड
जनकपुरधाम, असोज २८ गते ।
वीरगञ्जमा भन्सार छली गरेर राखेको २ केजीभन्दा बढी सुन र १० केजीभन्दा बढी चाँदी बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गोदाममा राखेको दुई केजी २५४ ग्राम सुन र १० केजी ३५४ ग्राम चाँदी बरामद गरेको छ ।
सोमबार विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–८ माईस्थानस्थित अभिषेक सर्राफको घरबाट अवैध रूपमा भन्सार छली गरेर राखिएको सुन र चाँदी बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको हो ।
सशस्त्र प्रहरीका अनुसार सुनजस्तो देखिने थप पाँच सय ५९.१० ग्राम र चाँदीजस्तो देखिने पाँच सय ५० ग्राम पनि बरामद भएको हो । सोही गोदामबाट एक लाख नौ हजार नेपाली रुपैयाँ र भारु ४१ हजार ६० पनि बरामद गरिएको जनाइएको छ ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाइने बताए। राजस्व चुहावटको सूचनाको आधारमा सो सुनचाँदी बरामद भएकाले आवश्यक कागजात हेरेर मुद्दा चलाइने उनले बताए ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।