सामाजिक फीड-
जनकपुरधाम, असोज २७ गते ।
सरकारमा मुस्लिम समुदायको समावेशी सहभागिता सुनिश्चित गर्न जेनजी मुस्लिम नेपालले माग गरेको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त संस्थाले सुशीला कार्कीको नेतृत्वको सरकारमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व हुनुपर्ने जनाएको छ।
मुस्लिम समुदायले जेन–जी आन्दोलनका विविध चरणमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्दै आएकाले सरकारमा मुस्लिमको प्रतिनिधित्व अपपरिहार्य रहेको उनीहरुको ठहर छ ।
जेनजी मुभमेन्ट अलायन्सले समेत उक्त संस्थाको मागप्रति ऐक्यबद्धता र समर्थन जनाउँदै सरकारसँग संविधानको मर्मअनुसार समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेको छ।
उनीहरूले राज्यका नीतिगत तहमा मुस्लिम युवाहरूको सार्थक सहभागिता र समान अवसरको प्रत्याभूति गर्नुपर्नेमा जोड दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधान २०७२ ले सबै जात, धर्म, भाषा, लिङ्ग र समुदायका नागरिकलाई समान अधिकार, अवसर र सहभागिता सुनिश्चित गर्ने स्पष्ट व्यवस्था गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीज्यूको नेतृत्वमा मन्त्रिपरिषद् विस्तारको क्रममा उक्त संवैधानिक मर्म र भावनालाई सम्मान गर्न अपेक्षा गर्दछौं।”

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।