सामाजिक फीड-
जनकपुरधाम, असोज २७ गते ।
मधेश प्रदेशका निजी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरूले श्रमशोषण र दमन अन्त्य गर्न माग गर्दै आन्दोलनको चेतावनी दिएको छ ।
निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रमशोषण र दमन अन्त्य गर्न माग गर्दै ८ सुत्रीय मागसहित कात्तिक १६ गतेदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रने घोषणा गरेका हुन् ।
धनुषाका विभिन्न निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित वातावरणमा काम गर्न बाध्य भएको बताएका छन् ।
उनीहरुले नेपाल सरकारको ऐनअनुसार तलब स्केल लागू गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाका करारकर्मीलाई हटाई लोक सेवा आयोगबाट विज्ञापन गर्नुपर्ने, स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने, हप्तामा अधिकतम ४२ घण्टा मात्र कामको सीमा तोक्नुपर्ने माग राखेका छन् ।
यस्तै, स्वास्थ्यकर्मीका परिवारलाई निःशुल्क उपचारको व्यवस्था, निजी अस्पतालमा बिदा तथा भत्ता सुविधा, हरेक वर्ष १० प्रतिशत तलब वृद्धि र निजी तथा सरकारी अस्पतालमा समान विज्ञापन प्रणालीको माग राखेका छन् ।
मन्त्रालयबाट पटक-पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले कार्यान्वयनमा नल्याएकाले आफूहरुको मनोबलमा गम्भीर असर परेको बताए ।
जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए पनि अहिले सम्म कुनै ठोस पहल नभएको उनीहरुको गुनासो छ ।
मागहरु पूरा नभए कार्तिक १६ गतेदेखि प्रदेशभरका स्वास्थ्यकर्मीहरूले अस्पताल खाली गरी शान्तिपूर्ण आन्दोलन सुरु गर्ने स्वास्थ्यकर्मी नरेश अधिकारीले पत्रकार सम्मेलनमा बताए ।