Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज २६
 गते ।

अगामी सोमबारदेखि जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशस्तरीय पहिलो अधिवेशन जनकपुरधाममा सुरु हुने भएको छ। अधिवेशनमार्फत ५१ सदस्यीय प्रदेश समिति चयन गरिने जनाइएको छ।

आइतबार नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जसपा मधेश प्रदेश कमिटीका अध्यक्ष बालकिसोर प्रसाद यादवले करिब ५ सय प्रतिनिधि र एक सय पर्यवेक्षक अधिवेशनमा सहभागी हुने जानकारी दिए।

उनका अनुसार अधिवेशनले हालको परिवर्तित राजनीतिक सन्दर्भमा संविधान संशोधन, जनसंख्याका आधारमा निर्वाचन प्रणाली, र अधिकार तथा पहिचानका आन्दोलनहरूको औचित्य पुनः पुष्टि गर्नेछ। वडा, पालिका र जिल्ला अधिवेशनहरू सम्पन्न भएपछि अब प्रदेश अधिवेशन हुन लागेको उनले बताए।

जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा हुने अधिवेशनमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना मुख्य सचिव, तीन जना सचिव, एक जना कोषाध्यक्ष र बाँकी सदस्य चयन गरिने अध्यक्ष यादवले जानकारी दिए।
उनका अनुसार चयन हुने समितिको १५ प्रतिशत सदस्य पछि मनोनीत गरिनेछ।

अध्यक्ष पदका लागि हालसम्म तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान अध्यक्ष बालकिसोर प्रसाद यादव, मधेश प्रदेशका पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादव, र पूर्वराज्यमन्त्री योगेन्द्र यादवले उम्मेदवारी घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *