सामाजिक फीड-
जनकपुरधाम, असोज २६ गते ।
सरकारले हैजा प्रभावित पर्सा र बारामा खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार, पर्सामा आजदेखि र बारामा भोलिदेखि खोप दिइनेछ। एक वर्षभन्दा माथिका सबैलाई खोप दिइनेछ।
खोप शाखा प्रमुख डा। अभियान गौतमले हैजाविरुद्धको खोप बजारमा सजिलै उपलब्ध नभएको र महंगो हुने भएकाले अभियानअन्तर्गत खोप पाउनेले निर्धक्क भएर प्रयोग गर्न आग्रह गर्नुभएको छ।
पर्सा र बारामा फैलिएको हैजाको महामारी र हालको भारी वर्षापछि आएको बाढीले थप जोखिम बढाएकोले यी क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागिएको हो।
परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेक लालका अनुसार, पर्सामा आजदेखि र बारामा भोलिदेखि शुरु हुने यो खोप अभियान तिहारअघि सम्पन्न गरिनेछ।
अभियानअन्तर्गत पर्साका १४ र बाराका ६ पालिकाका एक वर्षमाथिका सबै व्यक्तिलाई एक मात्रा हैजाविरुद्धको खोप दिइनेछ।
गत असोज ९ र १० गते पर्सा र बाराका लागि १० लाख १८ हजार १०० मात्रा खोप पठाइएको थियो।
गत भदौमा पर्साको वीरगञ्ज महानगरपालिका–१२ को मुरली टोलबाट सुरु भएको हैजाको संक्रमणले हालसम्म पर्सा र बारामा १,६८५ जना बिरामी भइसकेका छन्।