समाजिक फीड
जनकपुरधाम, असोज २२ गते ।
सर्लाहीमा प्रहरीलाई कुटपिट गरेको तथा प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा एक जना वडाध्यक्ष पक्राउ परेका छन् ।
सर्लाहीको गोडैता नगरपालिका–७, का वडाध्यक्ष ४० वर्षीय छोटेलाल भन्ने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो ।
दासलाई मंगलबार सर्लाहीको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईले बताए ।
असोज १७ गते साँझ वडाध्यक्ष दासको नेतृत्वमा प्रहरी चौकी गोडैतामा ढुंगामुढा गरेको र प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोप छ ।
प्रवक्ता राइका अनुसार आक्रमणबाट प्रहरी चौकी गोडैताका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सइ) अवधेशप्रसाद यादवको अगाडिको दुईवटा दाँत भाँचिएको छ । प्रहरी चौकीमा कार्यरत अन्य ५ जना कर्मचारीसमेत घाइते भएका छन् ।
प्रहरी चौकीमा ढुंगामुढा र बाँसको भाँठा प्रहार हुँदा ३ वटा मोटरसाइकलमा क्षति पुगेको प्रहरीले दावी गरेको छ ।
दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा गोडैता नगरपालिका–७, मा स्थानीय कारिल यादवलाई सर्लाहीकै रामनगर गाउँपालिका–५, बस्ने अनिल राय यादवलगायतले कुटपिट गरेको विषयलाई लिएर कारिल यादव पक्षका वडाध्यक्ष दाससहितले प्रहरी चौकीमा आएर आक्रमण गरेको आरोप छ।
उनलाई कुटपीट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रो कसुरमा बुधबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको डिएसपी राईले बताए ।
यता वडाध्यक्ष दासलाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार बिहानैदेखि गोडैता बजार बन्द गराइएको छ । गोडैताका प्रमुख देवेन्द्रकुमार यादवले वडाध्यक्ष दासलाई राजनीतिक पूवाग्रह राखेर पक्राउ गरिएको आरोप लगाएका छन ।