Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, असोज २२ गते ।

नेतृत्वबारे सहमती हुन नसक्दा मधेस प्रदेशमा नयाँ सरकार गठन अन्यौलमा परेको छ ।
एकातिर साविककै गठबन्धनबाट सरकार पुनर्गठन गर्ने कि नयाँ गठबन्धन निर्माण गर्ने भन्ने अन्योल छ भने अर्कोतर्फ सरकारको नेतृत्व कसले लिने भन्ने विषयले राजनीतिक माहोल तातिएको छ।

मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले फिर्ता बोलाइसकेको पनि उनले अहिलेसम्म राजीनामा दिएका छैनन्। सिंह आबद्ध रहेको जनमत र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि सिंह नेतृत्वको सरकार अल्पमतमा छ। संविधानअनुसार सत्तारूढ दलको समर्थन फिर्ता भएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ। सोही अनुसार मुख्यमन्त्री सिंह विश्वासको मत लिने वा अन्तिम समयमा आएर राजीनामा गर्ने विषयमा मुख्यमन्त्री आफैं अन्यौलमा छन ।

नेकपा एमाले र लोसपा नेपालले भने हालसम्म सरकारप्रतिको समर्थन यथावत् राखेका छन् । संवैधानिक व्यवस्था अनुसार असोज २८ गतेभित्र मुख्यमन्त्रीले कि त विश्वासको मत लिइसक्नुपर्नेछ वा राजीनामा दिएर मार्ग प्रस्त गर्नुपर्ने अवस्था छ । यहीँ किचलोकाबीच असोज २७ गते प्रदेशसभा बैठक आह्वान गर्ने तयारी भइरहेको छ।

मुख्यमन्त्री सिंह अल्पमतमा परेसँगै विभिन्न दलहरूले नेतृत्वका दाबी अघि सारेका छन्। लोसपा नेपालका संसदीय दलका नेता जयनुल राईनले मधेसवादी दलले नै सरकारको नेतृत्व गर्नुपर्ने भन्दै आफ्नो दलको दाबी पेस गरेका छन्। उनका अनुसार नेतृत्व कसले लिने भन्ने निर्णय पार्टी अध्यक्ष महन्थ ठाकुरले गर्नेछन्। स्रोतका अनुसार अध्यक्ष ठाकुरले कुनै हालतमा लोसपा नेतृत्वकै सरकार बन्नुपर्ने भन्दै कांग्रेस र एमाले नेतृत्वसँग दावी पेश गरेका छन ।

जनता समाजवादी पार्टी ९जसपा० का नेता सरोज कुमार यादवले मुख्यमन्त्रीले अझै राजीनामा नदिएको वा विश्वासको मत नलिएको अवस्थामाअघि सरकार गठनबारे छलफल गर्न हतारिन नहुने बताएका छन्।

यसबीच, नेकपा एमालेका प्रमुख सचेतक हरिनारायण महतोले भने नयाँ सरकारबारे नेपाली कांग्रेस, एमाले, जनमत पार्टी र लोसपा नेपालबीच सहमति भइसकेको दाबी गर्दै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन्। तर लोसपा र जसपाले भने त्यस्तो सहमति नभएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *