समाजिक फीड
जनकपुरधाम, असोज २२ गते ।
महोत्तरीमा रातो नदीको बाढीले तटबन्ध भत्काउँदा १५ करोड बराबरको क्षति भएको छ ।
बाढी नियन्त्रणका लागि नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।
जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलका अनुसार रातो नदीले बञ्चौरीको दुई स्थानमा ७० र ८० मिटर, लोहारपट्टीको दुवैतर्फ तीन सय मिटर डाम्हीमा १५० मिटर तटबन्ध भत्काउँदा करिब १५ करोड बराबरको तटबन्ध बगाएको जानकारी दिए ।
नदीले तटबन्ध भत्काएपछि जलेश्वर जलमग्न भएको थियो । बाढीका कारण जलेश्वरका एक हजार ५०० परिवार विस्थापित भएका छन् भने एकडारा गाउँपालिका, महोत्तरी गाउँपालिका, पिपरा गाउँपालिका, मटिहानी नगरपालिका, बलवा नगरपालिकासहित १० नगरपालिका र पाँच गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन् ।