समाजिक फीड
जनकपुरधाम, असोज २१ गते ।
रौतहटमा नुहाउने क्रममा बेपत्ता भएकी दुबै बालिकाको शव फेला परेको छ । देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा नुहाउने क्रममा बेपत्ता भएकी रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी राम र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी रामको शव फेला परेको प्रहरीले जनाएको छ ।
अविरल वर्षापछि खेतमा बगेको पानीले बनेको खाल्डो (भंगालो) मा आइतबार दिउँसो करिब डेढ बजे नुहाउने क्रममा दुबैजना डुबेर बेपत्ता भएका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय गोनाहीका ६ जनाको टोली, सशस्त्र प्रहरी बेस क्याम्प देवाहीका सुरक्षाकर्मी र स्थानीयवासीले रातभर खोजतलास गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी राजु कार्कीका अनुसार बालिकाहरू नुहाउने स्थानभन्दा करिब १० फिट तल रहेको गहिरो खाल्डोमा डुबेका थिए।
खाल्डो जलकुम्भीले ढाकिएको हुँदा उनीहरूलाई तत्काल देख्न कठिन भएको थियो । मृतक दुवै बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।
सोमवारै जिल्लाको राजपुर नगरपालिका ८ स्थित गोठटोलका गोनवर मियाको १० वर्षीय छोरा अरबाज मियाँको खोलाले बगाएर मृत्यु भएको थियो । घर नजिकै रहेको बकैया खोलामा दिउँसो नुहाउन गएका अरबाजलाई खोलाले बगाएको थियो ।
डिएस्पी कार्कीले हालको अविरल वर्षाले खेत, पोखरी र नदीका भंगालोमा पानी बढेका कारण डुबान र डुबेर मृत्यु हुने जोखिम बढेको भन्दै अभिभावकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
लगातारको वर्षाका कारण रौतहट जिल्लाका गाउँ–गाउँसहित सदरमुकाम गौरमा पनि डुबानको जोखिम उच्च बनेको छ र स्थानीय जनजीवन प्रभावित भएको छ।