Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, असोज २१ गते ।

सर्लाहीमा लखन्देही खोलाको बाढीले हुलाकी राजमार्ग अन्तर्गतको सडक बगाउँदा आवागमन ठप्प भएको छ । शनिबार राति आएको बाढीले कौडेना गाउँपालिका–३ पर्साटोलाको पश्चिमतर्फ करिब १५० मिटर सडक बगाएपछि पूर्व–पश्चिम हुलाकी राजमार्ग ठप्प बनेको हो ।

सडक अवरुद्ध भएपछि मंगलवार बिहानदेखि स्थानीय युवाहरूले बाँस र पटाको अस्थायी पुल बनाएर मोटरसाइकल, साइकल र पैदल यात्रु वारपार गराउने व्यवस्था मिलाएका छन् । सो पुल प्रयोग गर्नका लागि उनीहरूले मोटरसाइकलका लागि १०० रुपैयाँ, साइकलका लागि २० रुपैयाँ र पैदल यात्रुबाट १० रुपैयाँ शुल्क लिने गरेको स्थानीयले बताएका छन् ।

गोडैता, बलरा, विष्णु, धनकौल र रामनगर गाउँपालिकाका बासिन्दाहरूका लागि उक्त हुलाकी राजमार्ग मलंगवा सदरमुकाम आउजाउ गर्ने मुख्य बाटो हो । सडक बगाएपछि सर्वसाधारणहरू आवतजावतमा समस्या झेल्न बाध्य भएका छन् ।

लखन्देही खोलामा अझैसम्म पक्की पुल निर्माण नहुँदा प्रत्येक वर्षायाममा यस्तै समस्या दोहोरिने गरेको छ । स्थानीयवासीहरूले सरकारले तत्काल स्थायी पुल निर्माण र क्षतिग्रस्त सडक मर्मतका लागि पहल गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *