सामाजिक फीड-
जनकपुरधाम, असोज २१ गते ।
अन्तर्राष्ट्रिय महिला टी-२० शृङ्खलाको चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै पाँच खेलको सिरिज २-२ को बराबरीमा ल्याएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १११ रन बनाएको थियो। मलेसियाका लागि मास एलिसा सर्वाधिक ५६ रन बनाएर अविजित रहिन्। उनले ६३ बल खेलेकी थिइन्।
नेपालका लागि कविता कुँवरले किफायती र प्रभावशाली बलिङ गर्दै चार ओभरमा मात्र १० रन खर्चेर तीन विकेट लिइन्। पूजा महतो र कविता जोशीले एक-एक विकेट लिए।
११२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १७ ओभर तीन बलमा चार विकेट गुमाउँदै ११५ रन बनायो। कप्तान इन्दु बर्माले जिम्मेवारीपूर्ण प्रदर्शन गर्दै ३९ बलमा नटआउट ४८ रनको पारी खेलिन्। अर्धशतक नजिक पुगेकी उनले रुबिना क्षेत्रीसँग सानदार साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याइन्।
रुबिनाले २३ बलमा २३ रन जोड्दै कप्तानलाई भरपूर साथ दिइन्।
मलेसियाका लागि आइन्ना हामीजाह, नूर दानियाँ र माहिराले एक-एक विकेट लिएका थिए।
यसअघि सिरिजको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनले हार भोगेपछि नेपालले चौथो खेल जित्दै सिरिजमा फर्किएको हो।
अब पाँचौं तथा अन्तिम खेल फाइनलका रूपमा बुधबार हुनेछ, जसले सिरिजको विजेता टुंग्याउनेछ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।