Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज २०  गते 

सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–८ अरङमा पाँच दलित परिवारको घर तोडफोड र लुटपाट गरेको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् ।

पीडितहरूले १३ जनाविरुद्ध आपराधिक उपद्रवसम्बन्धी जाहेरी दिएका थिए । जाहेरी दर्ता भएपछि प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका लागि बोलाएको थियो । सोही क्रममा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सिरहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिए ।

जाहेरीमा वडाध्यक्ष यादवसहित स्थानीय राजकुमार सिंह, प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायतको नाम समावेश छ । एसपी शर्माका अनुसार हालसम्म तीन जना पक्राउ परेका छन् भने अन्य अभियुक्तको खोजी कार्य जारी छ । अनुसन्धानका क्रममा थप संलग्न व्यक्ति भेटिए उनीहरूमाथि पनि कानूनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

गत शुक्रबार साँझ ५ बजेतिर ठूलो पोखरीको उत्तरपट्टी डिलमा बसोबास गर्दै आएका दलित समुदायका पाँच परिवार — शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवान — का घर तोडफोड र लुटपाट गरिएको थियो ।

पीडितहरूका अनुसार करिब २०–२५ जनाको समूहले प्रहरीकै उपस्थितिमा तोडफोड र लुटपाट गरेको थियो । मिर्चैया र सशस्त्र प्रहरीको थप टोली पुगेपछि समूह त्यहाँबाट फरार भएको थियो ।

स्थानीयका भनाइअनुसार असोज १ गते विश्वकर्मा पूजाका अवसरमा अरङ बजारमा आयोजित आर्केस्ट्रा कार्यक्रममा दलित समुदाय र प्रभास सिंहबीच विवाद भएको थियो । सो घटनाको उजुरी प्रहरीमा परेपछि त्यसको प्रतिशोधस्वरूप घर तोडफोड गरिएको आशंका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *