Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, असोज १७ गते ।

मधेश प्रदेशमा नयाँ सरकार गठन गर्ने तयारीले तिब्रता पाएको छ । जनमत पार्टी नेतृत्वको सरकार अल्पमतमा परेपछि विभिन्न दलहरूबीच नयाँ समीकरणबारे छलफल भइरहेको छ ।

कांग्रेस एमाले सहितका दलले एउटा गठबन्धनको तयारी गरिहेको छ भने बाँकी दलहरुले अर्को गठनबन्धनको समेत तयारी थालेको हो ।

एमाले र कांग्रेसबाहेकका दलहरूले वैकल्पिक गठबन्धन सरकार गठनको सम्भावनाबारे छलफल सुरु गरेको नेताहरुले बताएका छन ।

दुबै गठबन्धनमा भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारको नेतृत्वमा दाबी गरिरहेको छ ।

यसै सन्दर्भमा लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर मधेशमा पुगेर विभिन्न दलका नेताहरूसँग छलफल गरेका थिए । ठाकुरले अब काठमाडौंमा केन्द्रीय तहका नेताहरूसँग समन्वय गरी अन्तिम निर्णय गर्ने लोसपाका नेताहरू बताउँछन् ।

‘नेतृत्व लिने वा नलिने, कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा अन्तिम निर्णय अध्यक्षज्यूले गर्नुभयो भने त्यसअनुसार अघि बढ्छौँ,’ लोसपा सांसद उपेन्द्र महतोले भने ।

मधेश प्रदेश सभामा जम्मा १०७ सदस्य छन् । सरकार बनाउन कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । जसपा नेपालसँग १९, जनमत पार्टीसँग १३, लोसपा र माओवादी केन्द्रसँग ९/९, एकीकृत समाजवादीसँग ७ तथा संघीय समाजवादी, नागरिक उन्मुक्ति र राप्रपासँग एक–एक जना सांसद छन् ।

यी दलहरूले एउटै गठबन्धनमा आएमा सहजै सरकार बनाउन सक्ने अंकगणित देखिन्छ । यही कारण कांग्रेस–एमालेबाहेकका सबै दलहरूको साझा सरकारबारे पनि गम्भीर छलफल भइरहेको छ ।
नेपाली कांग्रेसले असोज ८ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहको सरकार अल्पमतमा परेको हो । त्यसयता वैकल्पिक गठबन्धन सरकार गठनको गृहकार्य तीव्र बनेको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले भने लोसपालाई मनाएर सरकार बनाउने कसरतमा छ । कांग्रेसकी प्रदेश सांसद अंजना पंडितले नयाँ सरकार गठनका लागि छलफल चलिरहेको बताइन । ‘कांग्रेसकै नेतृत्वमा सरकार बन्छ होला । एमालेसँग छलफल भइराखेको छ’ उनी भन्छिन्, ‘बन्ने गठबन्धनकै सरकार हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *