Samajik Feed – News Portal from Nepal

समाजिक फीड-

जनकपुरधाम, असोज १२ गते ।


जेनजी युवा आन्दोलनका क्रममा घाइते भएकाहरुलाई सरकारले परिचयपत्र वितरण सुरु गरेको छ । उक्त परिचयपत्रका आधारमा घाइतेहरुले सहज उपचार पाउने भएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर घाइतेहरुलाई परिचयपत्र वितरण गरेका छन् । गृह मन्त्रालयका अनुसार सोमबारदेखि नै देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत परिचयपत्र वितरण थालिनेछ ।

मन्त्रालयको निर्णयअनुसार, जेनजी आन्दोलनका घाइतेहरुको उपचारका लागि मधेश प्रदेश सहित देशभरका १६ अस्पतालमा ‘जेनजी क्लिनिक’ स्थापना गरिएको छ । साथै, अस्पतालसम्म घाइतेलाई नि : शुल्क आउ–जाउको सुविधा मिलाइएको छ ।

घाइतेहरुको फलोअप उपचार व्यवस्थित बनाउन विशेषज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गर्ने तयारी भएको छ । यसबारे अन्तिम निर्णय मन्त्रिपरिषद बैठकले गर्ने बताइएको छ । स्वास्थ्य मन्त्रालयले बारम्बार फलोअपमा जानुपर्ने घाइतेका लागि निः शुल्क एम्बुलेन्सको समेत व्यवस्था गर्ने भएको छ ।

गृह मन्त्रालयले अस्पतालमा उपचारलाई सहज बनाउन फोकल व्यक्ति तोकिएको जानकारी पनि दिएको छ ।

मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा जेनजी क्लिनिक स्थापना गरिएको छ । काठमाडौं उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल ९सिभिल अस्पताल०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जेन–जी क्लिनिक स्थापना गरिएको छ ।

कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, बागमती प्रदेशमा चितवनको भरतपुर अस्पताल र गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेनजी क्लिनिक स्थापना गरिएको हो ।

लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *