सामाजिक फीड-
जनकपुरधाम, असोज १२ गते ।
महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालीदमार र रातु महिला सामुदायिक वन संरक्षण अभियानपछि वन्यजन्तु र चराचुरुङ्गीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।
कालापानी बस्तीका करिब २१० परिवार संलग्न यी दुवै वन क्षेत्रमा चरीचरण र सिकारमा पूर्ण रोक लगाएपछि वन संरक्षणमा सकारात्मक परिणाम देखिएको हो। कालीदमार सामुदायिक वन ३५९ हेक्टर र रातु महिला सामुदायिक वन ३५० हेक्टरमा फैलिएको छ। महिलाको सहभागिता बढाउन अलगै रातु महिला सामुदायिक वनू गठन गरिएको उपभोक्ताले बताएका छन्। यसको समिति र पदाधिकारी सबै महिला रहेका छन्।
कालीदमार सामुदायिक वनका संस्थापक सचिव बालकिशोर रायमाझीका अनुसार चरीचरण प्रतिबन्ध लगाएपछि सालका विरुवा बाक्लै बढेका छन्। वनमा ४० प्रतिशतभन्दा बढी सखुवाका बोट फस्टाएको उनको भनाइ छ। हाल कालीदमार वन क्षेत्रमा कालापानी उद्यानसमेत निर्माण गरिएको छ, जहाँ मयुर, लुइँचेपक्षी, मृग, हरिण, नीलगाई, बँदेललगायत वन्यजन्तु बढेका छन्।
रातु महिला सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष मुना श्रेष्ठका अनुसार महिलाको प्रत्यक्ष पहरेदारीले वन संरक्षणमा ठूलो सफलता प्राप्त भएको छ।
जिल्ला डिभिजन वन कार्यालय प्रमुख अजय मिश्रले महिलाको चासो बढेपछि वन क्षेत्रमा नयाँ–नयाँ प्रजातिका चराचुरुङ्गी देखिन थालेको बताए। उद्यानको तारबारले मानिस र घरपालुवा पशु छिर्न नदिएपछि चोरी–सिकारी पनि रोकिएको उनको भनाइ छ।
पर्यटन व्यवसायी गुञ्जबहादुर कार्कीले स्थानीयको पहलले उद्यान क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने सम्भावना देखिएको बताए। पूर्वाधार विकासमा अझै ध्यान दिइए यो क्षेत्र जिल्लाको प्रमुख आकर्षण बन्न सक्ने उनको भनाई छ ।
बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक हीरालाल गौतमका अनुसार वनसँगै जोडिएका टुटेश्वरनाथ महादेव मन्दिर, पञ्चधुरादेवी शक्तिपीठ, राइमण्डलधाम, प्रागैतिहासिक पाषाणयुगीन अवशेष, गिद्धको बासस्थान, चनौटेडाँडा र बहुमूल्य जडीबुटीसमेत यस क्षेत्रमा रहेका छन्।
उनले यी सम्पदालाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्न सके आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै तीनै तहका सरकारलाई योजनाबद्ध पहलकदमी आवश्यक रहेको सुझाव दिए।