Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-

जनकपुरधाम, असोज १० गते ।

रौतहटको चन्द्रपुर नगरपालिकास्थित टेकान बसपार्क अगाडि लामो समयदेखि खुलेआम रूपमा देहव्यापार चलिरहेको भए पनि प्रहरी प्रशासनले कुनै स्पष्ट कारबाही नगरेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्।

स्थानीयका अनुसार यस्ता गतिविधिले समाजको नैतिक संरचना कमजोर पार्नुका साथै युवापुस्तामा नकारात्मक असर पारिरहेको छ। करिब १०–१५ दिनअघि उनीहरूले सामूहिक रूपमा प्रमाणसहित प्रहरीसमक्ष उजुरी दिएका थिए। तर अहिलेसम्म कुनै ठोस कदम नचालिएको भन्दै उनीहरूले प्रहरी प्रशासन र जनप्रतिनिधिहरूमाथि गम्भीर प्रश्न उठाएका छन्।

द युनिटी अफ टेकान क्लबका अध्यक्ष सोम गुरुङका अनुसार सन्तपुरकी एक महिलाले टेकान बसपार्क छेउमा कोठा भाडामा लिएर एक दर्जनभन्दा बढी किशोरीलाई राखेर लामो समयदेखि यस्ता अवैध गतिविधि सञ्चालन गर्दै आएकी छन्। पहिले ती किशोरीहरूलाई होटल र रेस्टुरेन्टहरूमा पठाइन्थ्यो भने अहिले भने उनीकै कोठामा ग्राहक बोलाएर देहव्यापार गरिरहेको आरोप छ।

गुरुङले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेपछि आफूलाई त्यसलाई हटाउन दबाब आएको तर सत्यतथ्य बाहिर ल्याउन आफू पछि नहट्ने बताए। उनका अनुसार यस प्रकारको विकृति सिंगो समाजका लागि घातक बन्दै गएको छ।

यता, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी राजु कार्कीले भने उजुरीका आधारमा प्रमाण संकलन र निगरानी भइरहेको दाबी गर्दै दोषीमाथि चाँडै कानुनी कारबाही अघि बढाइने प्रतिबद्धता जनाएका छन्।

तर स्थानीयवासीहरूका अनुसार सार्वजनिक स्थानमा खुलेआम यस्ता गैरकानुनी क्रियाकलाप हुनु र प्रहरी प्रशासनको निष्क्रियता देखिनु गम्भीर प्रशासनिक कमजोरी तथा सम्भावित मिलेमतोको सङ्केत हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *