सामाजिक फीड-
जनकपुरधाम, असोज १० गते ।
जेन–जी आन्दोलनको क्रममा मधेस प्रदेशमा रहेको ९० वटा प्रहरी कार्यालयमा आशिंक तथा पूर्ण रुपले क्षति पुगेको थियो । आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सम्पूर्ण प्रहरी कार्यालयहरु पुनः सञ्चालनमा आएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
गत भदौ २३ र २४ गते देशभर चलेको जेन–जी प्रदर्शनको क्रममा मधेसको विभिन्न जिल्लामा रहेको ९० वटा प्रहरी कार्यालयमा क्षति पुगेको थियो । मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाका अनुसार प्रदर्शनको क्रममा १३ वटा प्रहरी कार्यालयमा पूर्ण रुपले र ७७ वटा कर्यालयमा आशिंक रुपमा क्षति भएको थियो ।
प्रहरी कार्यालयहरुमा भएको क्षतिको कारण ७ करोड ३१ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको क्षति भएको हो । धनुषामा सबैभन्दा बढी प्रहरी कार्यालयमा क्षति पुगेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयसहित २३ वटा प्रहरी कार्यालयमा क्षति भएको थियो । यस्तै, सर्लाहीमा २०, सिरहामा १४,रौतहटमा १२, पर्सामा ११, सप्तरीमा ६, बारामा ३ र महोत्तरीमा एउटा प्रहरी कार्यालयमा क्षति पुगेको थियो ।
प्रदर्शनको क्रममा भएको आगजनी तथा तोडफोडको कारण २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबरको सवारी साधनमा क्षति भएको हो । प्रदेश प्रहरीका अनुसार ८ वटा चारपांग्रे र २५ वटा दुई पांग्रे गाडीमा पूर्ण रुपले क्षति भएको हो भने १४ वटा चार पांग्रे र २ वटा दुई पांग्रे गाडीमा आशिंक क्षति पुगेको हो ।
प्रदर्शनको क्रममा मधेस प्रदेशमा रहेको विभिन्न २०७ वटा कार्यालयमा आगजनी तथा तोडफोड गरिएको प्रहरीले जनाएको छ।
मधेस प्रदेश प्रहरीका अनुसार प्रदर्शनको क्रममा ८४ जना प्रहरी र १२ जना सर्वसाधारण घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो।