सामाजिक फीड-
जनकपुरधाम, असोज १० गते ।
प्रहरीले दसैँ, तिहार र छठलाई सुरक्षित र भयरहित बनाउन विशेष सुरक्षा योजना लागू गरेको छ। जनकपुरस्थित मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले आठै जिल्लाका लागि सुरक्षा रणनीति तयार पारेर असोज ६ गतेदेखि छठ पर्वसम्म लागू गर्ने निर्णय गरेको हो।
कार्यालयका अनुसार, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी आठ जिल्लामा कुल ६ हजार ५३२ प्रहरी परिचालन गरिनेछ। यस क्रममा सडकमा अनुशासन कायम गर्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने र जनतालाई सुरक्षाको प्रत्याभूति दिने उद्देश्य राखिएको छ।
प्रदेश प्रहरीका प्रवक्ता एसएसपी कमल थापाले हालै सम्पन्न आन्दोलनको प्रभावले जनस्तरमा भयको वातावरण रहेको बताए। उनका अनुसार, अपराध रोकथाम र अप्रिय घटना हुन नदिन योजनाबद्ध अनुगमन, गस्ती, नियन्त्रण र सुरक्षा चेकिङलाई प्राथमिकतामा राखिएको छ।
यस अवधिमा ४८ वटा क्यूआरटी, १९ वटा स्ट्राइकिङ टोली, ११६ स्थानमा ट्राफिक चेकिङ, १२६ मोबाइल गस्ती, २१२ पैदल गस्ती, ३२५ पिकेट गस्ती, २६ राजमार्ग स्कर्टिङ र अन्य सुरक्षा व्यवस्था परिचालन हुनेछन्। साथै धार्मिक स्थल, बैंक तथा वित्तीय संस्था, बजार क्षेत्र र पर्यटकीय स्थानमा विशेष प्रहरी टोली खटाइनेछ।
प्रदेश प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीले बैंक, सुनचाँदी पसल, भिडभाड हुने स्थान तथा बढी आर्थिक कारोबार हुने क्षेत्रमा चोरी, लुटपाट र पाकेटमार नियन्त्रणका लागि विशेष टोली खटाइएको जानकारी दिए। उनका अनुसार, बजारमा कृत्रिम अभाव, मूल्यवृद्धि, ठगीजस्ता घटनालाई रोक्न १४ ठाउँमा प्रहरी खटाइएको छ।
चतुर्वेदीले सार्वजनिक सवारीसाधनलाई तोकिएको भन्दा बढी भाडा लिन नदिने, पटका तथा आतिशबाजी जस्ता विस्फोटक पदार्थको बिक्री–वितरण रोक्ने, अवैध मदिरा उत्पादन तथा जुवातास नियन्त्रण गर्ने निर्देशन दिइएको बताए। साथै सीमावर्ती संवेदनशील स्थानहरूमा विशेष प्रहरी टोली खटाइएको छ।