समाजिक फीड-
जनकपुरधाम, असोज ९ गते ।
मधेस सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह अल्पमतमा परेका छन् । जनमत पार्टी संसदीय दलको निर्देशन विपरित गएपछि पार्टीमा एक्लो परेका मुख्यमन्त्री सिंहलाई सत्ता साझेदार दलले समेत साथ छाडेपछि अल्पमतमा परेका हुन् ।
बुधबार सत्ता साझेदार नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि उनको नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
मधेश सरकारलाई अहिले एमालेका २४, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का ८ र मुख्यमन्त्री सतीशकुमार सिंह गरी ३३ सांसदको मात्र समर्थन छ ।
जनमत पार्टीले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री र दुई जना मन्त्रीलाई फिर्ता आउन भनेकोमा मुख्यमन्त्री राजीनामा नदिएपछि पार्टीले उनको साथ छोडेको हो ।
मंगलबारको प्रदेशसभा बैठकमा पनि मुख्यमन्त्री सिंहबाहेक जनमतका सबै सांसद विपक्षी बेञ्चमा बसेका थिए ।
बुधबारको कांग्रेस संसदीय दलको निर्णयसँगै सिंह नेतृत्वको प्रदेश सरकारको विपक्षमा ७२ सांसद देखिएका छन् ।
कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, जनमतका १२, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राप्रपाको एक/एक गरी ७२ सांसद विपक्षमा छन् । सरकार अल्पमतमा परेपछि संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम पुनः सरकारको प्रक्रिया अगाडि बढ्ने भएको छ ।
कांग्रेसको संसदीय दलका नेता एवं प्रदेश सभापति कृष्णप्रसाद यादवले आफूहरु दलीया राजनीतिमा रहेकाले व्यक्तिको समर्थन गर्न नसक्ने भन्दै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाइसकेका छन् । समर्थन फिर्ता लिएको कांग्रेसका सांसदहरु बुधबारको प्रदेशसभा बैठकमा विपक्षमा बसेका थिए ।
कांग्रेस सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री सिंहसँग राजीनामा दिनु बाहेकको विकल्प रहेको छैन् । कांग्रेसले समर्थन फिर्ता लिएपछि नयाँ सरकार बनाउन दौडधुप र दाबीहरू पुनः सुरु हुन थालेको छ ।
एमाले सरकारलाई जोगाउने दाउमा छ भने अर्को सत्ता साझेदार लोसपा आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको छ ।