Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज ९ गते ।

जनकपुरधाममा एक १६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार भएको रहस्य खुलेको छ । प्रहरीको प्रत्यक्ष संलग्नतामा अपहरण गरी मुरलीचोक स्थित होटेल मधेश प्रदेश र पीडारीचोक स्थित सिएफसी होटेलमा असार १७ गतेदेखि साउन ४ गतेसम्म बन्धक बनाएर बलात्कार गरेको दर्दनाक घटना बाहिरिएको हो ।

दोषीहरुलाई उम्काउन प्रहरीले धेरै प्रयास गरेपनि राष्ट्रिय मानवअधिकार आयोग, सरकारी वकिलको कार्यालय र सिआइबीको दबाबमा मात्र धनुषा प्रहरीले जाहेरी दर्ता गरेको थियो । जिल्ला अदालत धनुषामा मुद्दा दर्तापछि दुईजना प्रहरीसहित तीनजना कारागार चलान भएका छन् । मुख्य अभियुक्त जनकपुरको मुरलीचोक स्थित होटेल मधेश प्रदेशका संचालक मोलवी साहव भन्ने अजिज राइन ४ लाख धरौटीमा छुटेका छन् ।

असोज २ गते जिल्ला अदालत धनुषाका न्यायाधीश इश्वर आचार्यको इजलासको आदेशबाट कारागार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत्त प्रहरी जवान बरुणकुमार साह र नितेशकुमार महतो र होटेल मधेश प्रदेशका कामदार धिरजकुमार दास छन् ।

धनुषाको धनौजी गाउँपालिकाको बअुहर्वाका एकजना १६ वर्षीया बालिकालाई गत असार १७ गते घरबाटै अपहरण गरी जनकपुरको पिडारीचोक स्थित होटेल सिएफसीमा दुई दिन र त्यसपछि १७ दिन मधेश प्रदेश बन्धक बनाएर होटेल संचालकसहित प्रतिवादीहरुले जवरजस्ती करणी गरेको, र अन्यबाट ग्राहकबाट पैसा लिएर जवरजस्ती करणी गर्न लगाएको मुद्दाको मसिलिमा उल्लेख छ ।

मुख्य अभियुक्त राइनले आफू होटेल एण्ड मधेश प्रदेश गेष्ट हाउसको केही महिनादेखि उक्त होटेल ठेक्कामा लगाएको करारको सम्झौताको प्रतिलिपी पेस गरेको आधारमा उनलाई छाड्ने आदेश दिएको देखिन्छ । राइनले ११ फागुन २०८१ मा उक्त होटेल शंकर साहलाई संचालन गर्न दिएको सम्झौतापत्रको प्रतिलिपी पेश गरेको आदेशपत्रमा भनिएको छ ।


‘….निज प्रतिवादीको नाउँमा मधेश प्रदेश होटल दर्ता रही निजले नै संचालन गरेकोमा मिति २०८१/११/११ मा शंकर प्रसाद साहले संचालन गर्ने भनी सम्झौता भएको सम्झौता पत्र, यि प्रतिवादीले पेश गरेको’ आदेशमा अघि लेखिएको छ ‘..पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी यि प्रतिवादी मोलची म भन्ने अजिज राइनबाट हाललाई …नगद धरौटी रु ४,००,०००÷–(चार लाख रुपैयाँ) वा सो बराबरको जेथा जमानी दिए लिई तारेखममा राख्नु’

आदेशमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले गरेको अनुसन्धानमा होटेलका कामदार धिरज दाससँग पटकपटक फोन सम्पर्क भएकको कल डिटेल्समा देखिएको उल्लेख छ ।

पीडित बालिकाले साउनमै धनुषा प्रहरीमा मानव बेचबिखन, ओसार पोसार र जवरजस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन् ।
जसमा धनुषाको धनौजी गाउँपालिका ५ का ३० वर्षीय ताहिर राइन, होटेल मधेश प्रदेशका संचालक मोलवी भन्ने अजिज राइन, पिडारीचोक स्थित होटेल सी.एफ.सी. संचालक कन्हैया मुखिया, होटलमा कार्यरत वर्ष २२ की अन्जली महरा, प्रहरीजवानहरु वर्ष ३० का नितेश कुमार महतो, वर्ष ३५ का बरुणकुमार साह, प्रहरी भन्ने ४० का राजा, मधेस प्रदेश होटलका कामदार वर्ष ३५ का धिरज दास, होटेलमा केटीहरुलाई शारीरिक व्यवसायीका लागि जवरजस्ती तयार पार्ने अर्थात् मेकअपगरी लुगाफेरी दिने जस्ता काम गरेको वर्ष २५ की मुस्कान खातुन, ताहिरका बुबा मुफिद राइनलाई प्रतिवादी बनाएर जाहेरी दिएकी थिइन् । जस मध्ये ४ जना पक्राउ गरेर प्रहरीले अदालतमा पेश गरेको थियो ।


प्रहरीने फसेपछि मिलाउने हरसम्भव धनुषा प्रहरीको प्रयास

एक महिला अधिकारकर्मीका अनुसार युवतीको आमा र मामालाई प्रभावमा पारेर होटेल संचालक र धनुषा प्रहरीले २० लाखसम्म रुपैयाँ लिएर मुद्दा मिलाउने प्रयास गरेका थिए । ती महिला अधिकारकर्मीका अनुसार बालिकाले आफूलाई चरम यातना र यौन शोषन गरेको भन्दै दोषीहरुलाई कारबाहीको माग गरिन् । ‘बालिकाको मामा र आमालाई मिलाउने प्रयास गरिसकेका थिए । त्यसमा प्रहरीले समन्वयकारी भूमिका निर्वाह गरेको थियो । तर बालिकाले रुँदै कुनैपनि हालतमा आफूलाई न्याय चाहियो भनिरहिन्’ ती अधिकारकर्मीले भनिन् ।

धनुषा प्रहरीले पहिले घटनालाई वेवास्ता गर्दा बालिका अपहरणमा परी १९ दिनसम्म बलात्तकारको सिकार

महिला अधिकारकर्मीका अनुसार बालिकासँग सुरुमा ताहिर राइनले गरेको घटनाको जाहेरी र पछिल्लो घटनाको जाहेरी प्रहरीले दर्ता गर्न मानेको थिएन । पछिल्लो घटनामा प्रहरीकै संलग्नता देखिएपछि जिल्ला प्रहरी कार्यालयले सकभर मिलाउने प्रयास गरेको थियो । २९ चैतमा अपहरणमा परेकी ताहिरको पंजाबाट फुत्किएर जाहेरी जिल्ला प्रहरीको सम्पर्कमा पुगेरकी थिइन् । तर प्रहरी स्वास्थ्य परीक्षणसम्म गरेनन् । पछि सरकारी वकिल कार्यालयको निर्देशन र राष्ट्रिय मानव अधिकार आयोगको दबाबको कारणले असारको पहिलो साता जाहेरी प्रहरीले दर्ता गर्यो । तर असार ११ गतेतिर विदेश उडिसकेका छन् ।

सुरुकै घटनामा प्रहरीको कमिकमजोरीले पछिल्लो जघन्य अपारधको घटना घटेको जिल्ला सरकारी वकिलको कार्यालय धनुषाका प्रमुख अधिवक्ता विदुर कार्की बताउँछन् । ‘पहिले कै जाहेरीमा हामीले दर्ता गर्न भनेर निर्देशन दियौं । फाइल पठाएर पटक पटक फोन गरेर दबाब दियौं । तर समयमा प्रहरीले अनुसन्धान र दर्ता गरेन । त्यसको कारण दोस्रो जघन्य प्रकृतिको घटना भएको देखिन्छ’ उनले भने ।
दोस्रो घटनामा प्रहरीकै संलग्नता भएपछि प्रहरी झन् अझ् मिलाउने प्रयासमा थिए । सरकारी वकिलको कार्यालयले निर्देशन दिएको थियो । तर पनि प्रहरीले दर्ता गर्न मानेको थिएन । ‘दोस्रो जाहेरीमा विभिन्न निकायहरुले चासो लिएको थियो । हामीले पनि प्रहरीलाई पटक पटक दबाब दियौं । अनि जाहेरी दर्ता भयो’ उनले भने ।

सरकारी वकिल कार्यालयको निर्देशनलाई पनि प्रहरीले अटेर गर्न थालेपछि राष्ट्रिय मानव अधिकार आयोगले किन दर्ता नगरेको भनेर जवाफसहित प्रहरी प्रमुख नरहरि रेग्मीसहितका पाँच प्रहरीको जवाफ र बयान नै लिएको थियो । जवरजस्ती करणीमा संलग्न प्रहरीको सनाखतको लागि पत्र काटेर शंकास्पद पाँच प्रहरीलाई आयोगको कार्यालयमा झिकाइएको थियो । र पीडितबाट सनाखतपछि आयोगले १९ साउनमा किन जाहेरी दर्ता नगरेको पत्र काटेको थियो । २५ गते जाहेरी दर्ता भएको प्रहरीले आयोगलाई जानकारी गराएको थियो ।
मानव अधिकार संरक्षणको कोणबाट प्रहरीको लापरबाही देखेपछि आयोगले त्यसमा पीडितको न्याको लागि भूमिका खेलेको आयोगका जनकपुर कार्यालय प्रमुख बुद्धनारायण साहनीले बताए ।

‘मानव अधिकार संरक्षणको कोणबाट समयमै जाहेरी दर्ता नगर्ने । विधि प्रक्रिया अबलम्बन गरेर अनुसन्धन नगर्ने जस्ता कुरामा लामोसमयसम्म काम नभएको हुनाले पीडितको न्यायको कुरा, उनको संरक्षणको कुरा, समानता लगायत मानव अधिकार संरक्षणको कुराहरु ओझेमा परेको हामीले देख्यौं । र आयोगले आफ्नो अनुसन्धान र कारबाही अघि बढाएको थियो’ प्रमुख साहनीले भने ।
गम्भीर प्रकृतिको अपाराधमा धनुषा प्रहरीको भूमिका शंकास्पद देखिएपछि सिआइबीको केन्द्रीय टोलिले आएर समेत अनुसन्धान गरेको थियो ।

दबाबपछि मात्र जिल्ला प्रहरी कार्यालय धनुषाले जाहेरी दर्ता गरेको थियो । त्यसपछि मधेश प्रदेशका होटेल संचालक अजिज राइन, कामदार धिरजकुमार दास, प्रहरी जवान बरुण कुमार साह र नितेशकुमार महतोलाई पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो ।
यता धनुषाका प्रहरी उपरीक्षक रेग्मीले पहिलो र दोस्रो जाहेरी दर्ता गरेर समयमै प्रहरीले आफ्नो भूमिका निर्वाह गरेको बताए ।
‘दुईवटै मुद्दा दर्ता भएको छ । पहिलेका मुद्दाको प्रतिवादी फरार छन् । विदेश गए भन्ने सुनिरहेका छौं । इन्टरपोल मार्फत ल्याउँछौं त्यसलाई । पछाडिकामा पनि केही केही भयो । अरु बाँकी छन्’

Leave a Reply

Your email address will not be published. Required fields are marked *