समाजिक फीड
जनकपुरधाम, असोज ८ गते ।
मधेस प्रदेश जनकपुर प्रहरी कार्यालयले एक सूचना जारी गर्दै सर्वसाधारणलाई बिना बिल-बिजक सुनचाँदीका गहना वा अन्य कुनै पनि सामग्री किनबेच नगर्न आग्रह गरेको छ।
प्रहरीका अनुसार भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलनको क्रममा विभिन्न स्थानमा तोडफोड, आगजनी र लुटपाट भएका घटनामा संलग्न व्यक्तिहरूले चोरी गरिएका सामानहरू बजारमा बिक्री गर्न सक्ने सम्भावना रहेको छ।
मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीका अनुसार आन्दोलनको समयमा सरकारी तथा निजी भवन, बैंक, वित्तीय संस्था, र प्रतिष्ठानहरूबाट महत्वपूर्ण कागजात, ऐतिहासिक दस्तावेज बहुमूल्य गहना, नगद तथा अन्य सामग्री लुटिएको सूचना प्राप्त भएको छ।
त्यसैले प्रहरीले बिल नभएका वा आधिकारिक बिक्रेताबाट नआएका सामानहरू नकिन्न सबैलाई आग्रह गरेको छ। यस्ता चोरीका सामग्री किनबेच गर्नु कानुनी रूपमा दण्डनीय अपराध हुने प्रहरीले स्पष्ट पारेको छ।
त्यस्तै, यस्ता अवैध गतिविधि वा संलग्न व्यक्तिहरूबारे निकट प्रहरी कार्यालयमा जानकारी दिन वा प्रहरीको टोल-फ्री नम्बर १०० मा तुरुन्त खबर गर्न पनि आग्रह गरिएको छ।
प्रहरीको भनाइमा सामान्य नागरिकको सहयोग र सतर्कताले मात्र शान्ति र सुरक्षा कायम गर्न सजिलो हुने भएकाले सहयोग गर्न सबैलाई अनुरोध गरिएको छ।