समाजिक फीड
जनकपुरधाम, असोज ८ गते ।
जनकपुरधाम उपमहानगरपालिकामा उपमेयर किशोरी साह र कर्मचारीबीचको विवादले कार्यालयको कामकाज नराम्ररी प्रभावित बनेको छ।
सोमबार घटस्थापनाको दिन प्रत्येक वर्ष झैं उपमहानगरपालिकाबाट कलश यात्रा निकालिएको थियो ।
सो यात्राबाट फर्केर आएका महिला कर्मचारीसहित उपमहानगरपालिकका अन्य कर्मचारीहरु पालिका प्राङ्गनमा निर्माण गरिएको टेन्टमुनि आराम गरिरहेको बेला उपमेयर साहले आएर आफूलाई सम्मान नगरेको, आफ्नो आदेश नमान्ने गरेको भन्दै जथाभावी गालीगलोज गर्न थालेको भण्डारण महाशाखा प्रमुख गणेश यादवले जानकारी दिए ।
उक्त घटनापछि मंगलबार कर्मचारीहरूले उपमेयरविरुद्ध सार्वजनिक अपराध मुद्दा दायर गर्नुपर्ने अडान लिएका छन्। भण्डारण महाशाखा प्रमुख यादवका अनुसार प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालमार्फत मुद्दा दर्ता प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ। कर्मचारीहरूले मंगलबार कार्यालय समयमा ‘कलम डाउन’ कार्यक्रम समेत गरेका थिए।
यादवका अनुसार कर्मचारीहरूलाई यसअघि पनि उपमेयर साहले दुर्ववहार गरेका थिए । तर यसपटक सहनसक्ने सीमा नाघेकाले कानुनी बाटो रोज्न बाध्य भएको उनको भनाइ छ ।
मेयर मनोज कुमार साहले पनि आफू उपमेयरको असभ्य व्यवहारबाट पीडित भएको दाबी गरेका छन्। उपमेयर साहले आफुलाई समेत पटक–पटक गाली गरेको उनले संचारमाध्यमहरुलाई बताएका छन्। अहिले अवस्था विकराल रहेकाले आफु पनि कर्मचारीहरूको पक्षमा रहेको उनको भनाई छ । उनका अनुसार कर्मचारीहरु उपमेयर साहबाट बारम्बार अन्यायमा परिरहेका छन्।
विवादबारे उपमेयर साहले भने कार्यपालिकामा छलफल चलिरहेको कारण तत्काल प्रतिक्रिया नदिने बताए।
वार्ता चलिरहेको अवस्थामा प्रतिक्रिया दिनु उचित नहुने भन्दै उनले समस्या समाधान भएपछि आफ्नो पक्ष प्रष्ट पार्ने उल्लेख गरे ।