सामाजिक फीड-
जनकपुरधाम, असोज ७ गते ।
सिरहामा अपहरणमा परेका एक बालकको हत्या भएको छ ।
जिल्लाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका १५ वर्षीय छोरा अभिषेक सिंह मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार आज बिहान घर नजिकै रहेको आँप बगैंचामा उनको शव फेला परेको हो । घटनास्थलमा आवश्यक अनुसन्धान थालिएको छ ।
प्रहरीले यस हत्याको घटनामा बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको सिरहा प्रहरी स्रोतले जनाएको छ ।
बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
अभिषेक गत आइतबार राति करिब ८ बजे देखिनामात्र बेपत्ता भएका थिए । परिवारजनले रातभर खोजतलास गरे पनि उनको अत्तोपत्तो लागेन । सोमबार बिहान करिब ८ बजे अभिषेककै मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको सन्देश आएको थियो । त्यसपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।