सामाजिक फीड-
जनकपुरधाम, असोज ७ गते ।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको मधेस प्रदेश सभाको बैठक कक्ष मर्मतपछि आज पुनः बैठक बस्न लागेको छ । बैठकका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रदेश सभा सचिवालयले जनाएको छ।
आन्दोलनका क्रममा आगजनीपछि ध्वस्त बनेको हललाई मर्मत गरिएको छ भने नयाँ कुर्सीसमेत व्यवस्थापन गरिएको छ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सञ्चालनको तयारी केही दिनदेखि भइरहेको छ।
यसअघि प्रतिपक्षी दलका कारण अनिश्चितकालका लागि रोकिएको बैठक जेनजी आन्दोलन पछि बैठक सञ्चालन सम्बन्धी बसेको सर्वदलीय बैठकमा सहमति जुटेसँगै आज बैठक बस्न लागिएको हो।
प्रदेश सभामा सिट व्यवस्थापनसमेत फेरबदल हुने भएको छ। प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने जनमत पार्टीको निर्णयपछि सभामुख रामचन्द्र मण्डलले विपक्षी पक्षका लागि छुट्टै सिट व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। उनले पार्टीले लिखित पत्र पठाएपछि सोही अनुसार व्यवस्था मिलाइने बताए।
मुख्यमन्त्री सतिशकुमार सिंहले भने पार्टीको समर्थन फिर्तापछि राजीनामा नदिने स्पष्ट गर्दै विश्वासको मत लिने तयारीमा रहेको बताएका छन्। जनमत पार्टीले यसबारे स्पष्टीकरण माग्दै सिंहमाथि कारबाहीको प्रक्रिया अघि बढाउने संकेतसमेत गरेको छ।