सामाजिक फीड-
जनकपुरधाम, असोज ६ गते ।
जेन–जी आन्दोलनका कारण सर्लाहीमा करिब ६३ करोड ५५ लाख बराबरको भौतिक तथा आर्थिक क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रारम्भिक तथ्यांक अनुसार आन्दोलनकै क्रममा तोडफोड, आगजनी र लुटपाटबाट सरकारी संरचनामा ठूलो क्षति पुगेको हो।
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी शिव हरि पोखरेलका अनुसार जिल्लाभर रहेका ७८ वटा सरकारी सम्पतिमा क्षति पुगेको छ। तीमध्ये सबैभन्दा बढी स्थानीय तह प्रभावित भएका छन्।
सर्लाहीमा रहेका २० वटा स्थानीय तहमध्ये ११ वटामा क्षति पुगेको छ। जसमा ६ वटा स्थानीय तह पूर्णरूपमा क्षतिग्रस्त हुँदा ४७ करोड २० लाख बराबरको नोक्सानी भएको छ। त्यस्तै २ वटा स्थानीय तहमा आंशिक क्षति र ३ वटा स्थानीय तहमा सामान्य क्षति पुगेको प्रशासनले जनाएको छ। बाँकी ९ वटा स्थानीय तह भने सुरक्षित रहेका छन्। समग्रमा स्थानीय तहतर्फ ६१ करोड ३३ लाख बराबरको क्षति भएको हो ।
प्रादेशिक कार्यालय तर्फ जिल्लामा रहेका २३ कार्यालयमध्ये एउटा कार्यालयमा सामान्य क्षति हुँदा १५ लाख बराबरको नोक्सानी भएको छ।
संघीय निकाय मातहतका ३५ कार्यालयमध्ये ५ वटामा क्षति पुगेको छ। तीमध्ये २ वटामा क्षति हुँदा ५१ लाख र अन्य ३ वटामा सामान्य क्षति हुँदा १ करोड ५६ लाख बराबरको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ। बाँकी ३० वटामा भने कुनै क्षति भएको छैन। यसरी संघीय तर्फ २ करोड ७ लाख बराबरको क्षति भएको छ।
प्रशासनका अनुसार हालसम्म ७२ वटा कार्यालयले नियमित रूपमा सेवा दिइरहेका छन् भने ६ वटा कार्यालय आंशिक रूपमा मात्र सञ्चालनमा छन्। निजी तथा व्यक्तिगत सम्पतिमा भएको क्षतिको विवरण भने अहिलेसम्म संकलन भइसकेको छैन।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।