Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज ६ गते ।

जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको तोडफोडका कारण बन्द रहेको इलाका प्रशासन कार्यालय लहानको सेवा क्रमशः पुनः सञ्चालनमा आउन थालेको छ। कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सेवा फेरि सुरु गरेको हो।

कार्यालयका प्रमुख वेदनिधि खनालका अनुसार प्रदर्शनकारीहरूले लुटेर लगेका उपकरणमध्ये क्यामेरा फिर्ता भएकाले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा पुनः सुरु गर्न सम्भव भएको हो। तर, राहदानी सेवा भने अझै सञ्चालनमा आउन सकेको छैन। प्रदर्शनका क्रममा राहदानी सेवामा प्रयोग हुने स्क्यानर मेसिन र क्यामेरा तोडफोड गरिएकाले वैकल्पिक व्यवस्था नभएसम्म यो सेवा बन्द नै रहने प्रमुख खनालले जानकारी दिए।

‘केही दिनभित्रै काठमाडौँबाट नयाँ उपकरण आउनेछ, त्यसपछि राहदानी सेवा पनि सुरु गर्नेछौं,’ खनालले भने।

यसअघि, कार्यालयले असोज १ गतेदेखि नागरिकता वितरण सेवा पुनः सञ्चालन गरिसकेको छ।

सेवा पुनः सञ्चालन गर्न कार्यालयले मर्मत–सम्भारको काम पनि क्रमशः अघि बढाइरहेको छ। प्रमुख खनालका अनुसार आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुन नदिए पनि तोडफोडका कारण करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *