समाजिक फीड
जनकपुरधाम, असोज ६ गते ।
अब आमाको नामबाट पनि वंशजको आधारमा नागरिकता लिन सहज हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली नागरिकता ऐन, २०६३’ संशोधन विधेयक प्रमाणीकरण गरेसँगै आमाको नामबाट बंशजको नागरिकता लिन सहज भएको हो । यसअघि भने बाबुको नाममार्फत मात्र वंशजको नागरिकता दिइँदै आएको थियो ।
संशोधित ऐनअनुसार, बाबुको पहिचान हुन नसकेको वा आमाले ‘बाबु यिनै हुन्’ भनी प्रमाणित नगरे पनि आमाको नामबाट वंशजको नागरिकता पाउन सकिनेछ ।
ऐनको दफा २ को उपदफा ५ ९क० मा भनिएको छ— नेपालमा जन्मिएर नेपालमै बसोबास गर्ने व्यक्तिको बाबु सम्पर्कविहीन भई पहिचान हुन नसकेको अवस्थामा, वा जन्मदर्ता, शैक्षिक प्रमाणपत्र वा अन्य कुनै प्रमाणमा बाबुको नाम भए पनि त्यो नाम खुलाउन नसकेको भनी आमासहित स्वघोषणा गरेमा, उक्त व्यक्तिलाई वंशजको आधारमा नागरिकता दिन सकिनेछ ।
त्यस्तै, उपदफा ५ ९१० को खण्ड ‘ग’ अनुसार आमाको मृत्यु भइसकेको वा ठेगाना अज्ञात भएको अवस्थामा चिकित्सकको प्रमाण भएमा आमाको स्वघोषणा आवश्यक नपर्ने व्यवस्था गरिएको छ ।
संशोधनले अर्को व्यवस्था पनि थप गरेको छ— नेपाली नागरिक आमाबाट विदेशमा जन्मिएर नेपालमा स्थायी बसोबास गर्ने, तर विदेशको नागरिकता वा राहदानी नलिएका र बाबुको पहिचान नभएका व्यक्तिले आमाको स्वघोषणासहित अङ्गीकृत नागरिकता लिन सक्नेछन् ।
साथै, नयाँ ऐनले सन्तानलाई बाबु वा आमामध्ये आफूले रोजेको थर र ठेगाना राख्ने अधिकार दिएको छ । दफा ८(क) मा भनिएको छ—वंशजको आधारमा नागरिकता पाउने व्यक्तिले आमाको वा बाबुको थर र ठेगानामध्ये जुन रोज्छ, त्यही आधारमा नागरिकता दिन सकिनेछ । सर्वोच्च अदालतले यसअघि पनि यसबारे नजिर कायम गरेको भए पनि व्यवहारमा कार्यान्वयन सहज थिएन ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।