समाजिक फीड
जनकपुरधाम, असोज ५ गते ।
नरायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएपछि काठमाडौं आवतजावत गरिरहेका जनकपुर सहित देशभरका विभिन्न ठाउँका यात्रा बिच बाटोमै बिचल्लीमा परेका छन । मुग्लिन नजिक तुइन खोलामा आएको पहिरोका कारण नारायणगढ मुग्लिन सडक शुक्रबार साँझदेखि नै ठप्प छ । प्रहरीका अनुसार पहिरोका कारण विभिन्न टाउँमा परेर साढे ११ हजार गाडीहरू सडकमै फँसेका छन ।
हजारौँ यात्रुहरूलाई असुविधा भोग्न बाध्य भएको प्रहरीको भनाई छ । त्यहाँ खसेको भीषण पहिरो शनिवार दिनभरमा लगभग आधा मात्रै सफा भएको थियो । आज आइतबार बिहानबाटै पहिरो सफा गर्न सुरू भए पनि आजै बाटो खुल्ने नखुल्ने निश्चित छैन । तीन दिनदेखि बाटोमा हजारौँ गाडीहरू जाममा परेका छन् ।
लेन अनुसार नभएर सडकमा गाडीहरू अस्त व्यस्त तरिकाले रोकिएको हुँदा पहिरो खुले पनि यातायात झट्टै सहज हुने सम्भावना कमै देखिन्छ । भरतपुरको डिभिजन सडक कार्यालयले यस्तो बेलामा वैकल्पिक मार्गहरू अपनाउन अपिल गरेको छ ।
काठमाडौँबाट मुग्लिनसम्म आएका पश्चिम जाने साना ठुला सवै खाले गाडीहरू पृथ्वीराजमार्गबाट पोखरा हुँदै गन्तब्यमा जान सक्ने डिभिजन सडक कार्यालयले विकल्प दिएको छ ।
पूर्वबाट काठमाडौँ जाने आउने गाडीहरूले नौबिसे( दामन)हेटौंडा सडक प्रयोग गर्न सजिलो हुने कार्यालयको भनाइ छ। कालीगण्डकी करिडोरको नारायणगढ नजिक गैंडाकोटबाट डेडगाउँ, भिमाद हुँदै पृथ्वीराजमार्ग समाएर मुग्लिन निस्कन सक्ने विकल्प पनि डिभिजन सडक कार्यालयले दिएको छ ।
त्यस्तै पश्चिम जाने साना ठुला सबै खाले गाडीहरूलाई पृथ्वीराजमार्गबाट पोखरा हुँदै गन्तब्यमा जान सक्ने डिभिजन सडक कार्यालयले विकल्प दिएको छ। नभए भिमाद हुँदै कालीगण्डकी करिडोर पनि प्रयोग गर्न सुझाएको छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।