समाजिक फीड
जनकपुरधाम, असोज ५ गते ।
सिरहामा एक वडाध्यक्षले गरेको बदमासी विरुद्ध स्थानीयहरु आन्दोलित भएका छन् ।
कल्याणपुर नगरपालिका–९ डुमरीमा नाला निर्माणका नाममा खनिएको खाल्डो अलपत्र छाडिँदै आएपछि पटक–पटक दुर्घटना हुँदै आएको छ ।
यसको विरोधमा आन्दोलित बनेका स्थानीयले आइतबार बिहानैदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन थालेका छन् ।
स्थानीयका अनुसार गत आर्थिक वर्षमा वडाध्यक्ष विनोदकुमार यादवले नाला बनाउन भन्दै सडक छेउमा खाल्डो खनाए पनि काम अधुरै छाडिएको थियो ।
त्यसयता उक्त खाल्डोमा निरन्तर दुर्घटना हुँदै आएको स्थानीय विनोद यादवले बताए ।
आइतबार बिहान मात्रै सोही खाल्डोमा खस्दा स्थानीय शिवा पासवानकी ६ वर्षीया छोरी राधिका पासवान घाइते भएकी थिइन् । टाउकोमा गम्भीर चोट लागेकी उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
यसबारे पटक–पटक जानकारी दिँदा पनि बेवास्ता गरेको स्थानीयको आरोप छ भने वडाध्यक्ष यादवसँग सम्पर्क गर्न खोज्दा प्रतिक्रिया लिन सकिएन ।