समाजिक फीड
जनकपुरधाम, असोज ३ गते ।
जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते मधेश प्रदेशका विभिन्न कारागारबाट ५० जना भारतीय कैदी भागेका छन्। उनीहरू हत्या, हातहतियार खरखजना, डकैती, लागुऔषध, खोटा मुद्रा, अपहरण, शारीरिक बन्धक तथा जबर्जस्ती करणी जस्ता गम्भीर आपराधिक मुद्दामा अदालतबाट कैद सजाय पाएका थिए।
पर्सा, सर्लाही र सिरहा कारागार भने सुरक्षित रहे । ती कारागारहरुबाट एक जना पनि कैदी फरार हुन नपाएको प्रहरीले जनाएको छ । धनुषा र बारामा भने कारागार छैन।
रौतहटको गौर कारागारबाट मात्रै १७ जना भारतीय कैदी भागेका थिए। तीमध्ये ५ जनालाई भारतीय सीमासुरक्षा बलले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाइसकेको छ। बाँकी १२ जना अझै फरार रहेको कारागार प्रमुख मनिष झाले जानकारी दिए। गौर कारागारमा २९१ कैदी थिए, जस मध्ये २६४ जना ढोका फोरेर भागेका थिए। हालसम्म ८६ जनालाई फर्काइए पनि अझै १७८ जना कैदी, जसमा भारतीय पनि छन्, फरार रहेका जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताए।
महोत्तरी कारागारबाट ३९ भारतीय कैदी भाग्दा, ४ जना प्रहरी नियन्त्रणमा आइसकेका छन्। बाँकी ३५ जना अझै फरार छन्। आन्दोलनकै बेला ५७६ मध्ये सबै कैदी भागेका थिए, तर प्रहरी नियन्त्रण र आफैं हाजिर भएकासहित हाल १९८ जना मात्र कारागारमा फर्किएको प्रशासनले जनाएको छ।
सप्तरी कारागारबाट भागेकामध्ये ५ जना भारतीय थिए। तीमध्ये २ जना पक्राउ परेका छन् भने ३ जना अझै फरार छन्। ३९८ कैदीमध्ये २०५ जना भागेका थिए, तर हालसम्म ८४ जनालाई फेला पारिसकिएको जिल्ला प्रहरी प्रमुख एसपी गौतमकुमार केशीले जानकारी दिए। उनका अनुसार, प्रहरीले सम्भावित स्थानमा खोजतलास तीव्र पारेको छ। साथै, सप्तरी प्रहरीले झुम्का कारागारबाट भागेका ९ र नख्खु कारागारबाट भागेका एकजना कैदीलाई पनि पक्राउ गरेको छ।