मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान र संघीयता जोगाउन आफूले राजीनामा नदिने स्पष्ट पारेका छन्।
संविधान दिवसको अवसरमा मधेस सरकारले आयोजना गरेको कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले राष्ट्रपतिको भूमिकाबारे भइरहेको बहसजस्तै भविष्यमा आफ्नो कामको पनि मूल्यांकन हुने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री सिंहले प्रदेशसभामा गएर बहुमत सावित गर्ने बताउँदै, अहिलेको अवस्थामा सरकार परिवर्तनको आवश्यकता नरहेको टिप्पणी गरे। उनका अनुसार, सबै राजनीतिक दलहरू मिलेर संघीयताको रक्षा गर्नु आजको प्रमुख आवश्यकता हो।
उनले केही व्यक्तिको प्रभावमा परेर पार्टीभित्र आफूलाई स्पष्टीकरण सोध्ने वा निष्कासनसम्मको प्रक्रिया अघि बढाइएको स्पष्ट पार्दै, त्यसलाई सामान्य राजनीतिक प्रक्रिया भने।
युवा पुस्ताले आन्दोलन थालेपछि सामाजिक सञ्जालमार्फत राजीनामा दिने संकेत गरे पनि सिंहले अहिले राजीनामा दिए संघीयता कमजोर हुने र जनतामा नकारात्मक सन्देश जाने भएकाले त्यसबाट पछि हटेको बताए।