Samajik Feed – News Portal from Nepal

समाजिक फीड
जनकपुरधाम, असोज २ गते ।

पछिल्लो समय देशको राजनीति उथलपुथल भएकै बेला जनमत पार्टीभित्र पहिरो गएको छ ।

उक्त पार्टीका केन्द्रीय तहका ६ जना नेताले सामुहिक रुपमा पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष सिके राउत र संगठन विभाग प्रमुख समेत रहेका उनका दाई जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन बुधवार अल्टिमेटम दिएका जनमतका वरिष्ठ उपाध्यक्ष सहित जना नेताले आज साधारण सदस्य समेत नरहने गरी पार्टी छोडेका छन ।

वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिं यादव, युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, स्वास्थ्यकर्मी संघका केन्द्रिय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम ले पार्टी छाडेका हुन् । उनीहरु सबैजना सिके राउतका नजिकका पात्र मानिन्थे । दाजुभाई दुबै जनालाई राजीनामा दिन बुधवार ती नेताहरुले अल्टिमेटम दिएपछि राउतले सामाजिक सञ्जालमा पार्टी छोड्न उपयुक्त समय भएको बताएका थिए ।

उनीहरूले राजीनामा माग गरेको पत्रमा भदौ २३ र २४ गते जेनजीको आन्दोलनले देशभर राजनीतिक भू परिदृश्यमा नयाँ मोड ल्याएको उल्लेख गर्दै नेताहरूले पार्टीभित्र समेत शुद्धीकरण आवश्यक भएको बताएका थिए ।
पछिल्ला दिनमा देखिएको कमजोर कार्यशैली, पारदर्शिताको अभाव र जनभावनाविपरीत गतिविधिका कारण पार्टी आफ्नो मूल उद्देश्यअनुरूप अघि बढ्न नसकेकोले पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी संस्थामा रूपान्तरण गर्न नयाँ नेतृत्व अपरिहार्य भएको उनीहरूको भनाइ थियो । यता जनमत पार्टीका अध्यक्ष राउतले भने नेताहरुले दिएको सामूहिक राजीनामा स्वागतयोग्य भएको बताएका छन्।

उनीहरुले किन पार्टी छोडेको भन्ने जानकारी थाहा नभए पनि उनीहरूको निर्णयको सम्मान गर्दै स्वागत गरिएको बताए । उनका अनुसार अब बस्ने केन्द्रीय समिति बैठकले ती नेताको राजीनामा स्वीकृत गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *