समाजिक फीड-
जनकपुरधाम, असोज १ गते ।
गत २४ गते भएको युवाहरुको आन्दोलनको क्रममा मधेश प्रदेशसभामा करोडौं रकम बराबरको क्षति भएको छ ।
सभामुख रामचन्द्र मण्डलका अनुसार तोडफोड र आगजनीका कारण प्रदेशसभामा करिब ३० देखि ४० करोड रुपैयाँ बराबरको क्षति भएको हो ।
आगलागीका कारण सातै दलका संसदीय दल कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षदेखि सचिवालयका अधिकांश शाखा ध्वस्त भएका छन्। साथै सचिवालयको एउटा हायस पूर्ण रूपमा जलेको र अर्को आंशिक क्षति पुगेको छ।
भवनभित्र रहेका फर्निचर, कम्प्युटर, ल्यापटप, टेलिभिजन, पंखा लगायतका सामग्री तोडफोड गरी जलाइएको र केही लुटपाट भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
जनकपुरधाम उपमहानगरपालिका–कुवारामपुरस्थित मधेस प्रदेशसभा भवनमा जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटपछि बाँकी रहेका भग्नावशेष हटाउँदै सरसफाई समेत सुरु गरिएको छ।
प्रदेशसभा बैठक बोलाउनुपर्ने परिस्थिति उत्पन्न भएपछि बैठक कक्ष, प्रशासन शाखा लगायतका भवनमा सरसफाई अभियान चलाइएको हो।
सभामुख मण्डलले मंगलबारदेखि सुरु गरिएको सरसफाईपछि भवनलाई बैठक सञ्चालन गर्न मिल्ने अवस्थामा ल्याउने प्रयास भइरहेको जानकारी दिए। आवश्यक परेमा प्रदेशसभासँगै रहेको कभर्ड हलमा पनि बैठक बस्न सक्ने सम्भावना रहेको उनले बताए।