समाजिक फीड-
जनकपुरधाम, असोज १ गते ।
संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिजिट र कामदार भिसा अस्थायी रूपमा रोक लगाएपछि ठूलो संख्यामा नेपालीहरू अन्यौलमा परेका छन्।
यूएईले सोमबारदेखि भिजिट भिसा र मंगलबारदेखि कामदार भिसा रोक लगाएसँगै वैदेशिक रोजगारमा जान चाहने नेपाली युवाहरू र म्यानपावर कम्पनीहरू समस्यामा परेका हुन्।
केही म्यानपावर व्यवसायीका अनुसार, कामदार भिसाका लागि कम्पनीहरूले निवेदन दिए पनि ती आवेदनहरू अस्वीकृत भइरहेका छन्। यद्यपि, यूएईको तर्फबाट भिसा रोकको स्पष्ट कारण भने खुलाइएको छैन।
हालै नेपालमा भएको जेन–जेड आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र कैदीहरू फरार भएको घटनालाई भिसा रोकसँग जोडेर हेरिँदै आए पनि यसबारेमा कुनै आधिकारिक पुष्टि भएको छैन।
यसअघि अबुधाबी र दुबईले नेपाली नागरिकका लागि भिजिट भिसा रोकिसकेका थिए। त्यसपछि सेवा प्रदायक कम्पनीहरूले सारजाहमार्फत भिसा उपलब्ध गराउँदै आएका थिए, तर हाल त्यो विकल्प पनि बन्द भइसकेको छ।
कैयौं कम्पनीहरूले भिसाको टाइपिङ प्रक्रियासम्म पुगे पनि अन्तिम आवेदन दिन नपाएको र अघिनै दिइसकिएका भिसा आवेदनसमेत अस्वीकृत भएको जनाएका छन्।
अबुधाबीस्थित नेपाली दूतावासले यसबारे अहिलेसम्म आधिकारिक जानकारी प्राप्त नभएको बताएको छ। यूएईका लागि श्रम सहचारी पंकज लाभ कर्णका अनुसार, वैदेशिक रोजगार व्यवसायी र केही कम्पनीहरूले अनौपचारिक रूपमा सूचना दिएका भए पनि सरकारी तहबाट पुष्टि भएको छैन।
यस निर्णयले न केवल रोजगारीका लागि तयारी गरिरहेका नेपालीहरूलाई असर पारेको छ, तर म्यानपावर व्यवसायीहरू पनि अन्यौलमा परेका छन्।
यसअघि यूएईले इजिप्ट, पाकिस्तान, बंगलादेश, इथियोपिया र युगाण्डाका नागरिकलाई भिसा नदिने निर्णय गरिसकेको थियो, र अहिले सो सूचीमा नेपाल पनि थपिएको छ।
यही महिनाको अन्त्यतिर सारजाहमा आयोजना हुने नेपाल र वेस्ट इन्डिजबीचको तीन दिवसीय क्रिकेट खेल पनि प्रभावित हुने देखिएको छ। नेपाल क्रिकेट संघ ९ऋब्ल्० को पहलमा हुन लागेको उक्त खेलका लागि खेलाडीहरूलाई भिसा दिने प्रयास भइरहेको भए पनि स्पोन्सर, दर्शक र अन्य व्यवसायीक वर्गका लागि समस्या उत्पन्न हुने अनुमान गरिएको छ।
यूएई अध्यागमनले नेपाली नागरिकका सबै प्रकारका भिसा आवेदन हालका लागि रोकेको छ। यो निर्णय अस्थायी हो वा स्थायी भन्नेबारे अझै स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। पछिल्ला वर्षहरूमा यूएईमा नेपालीहरू आपराधिक गतिविधिमा संलग्न भएको भन्दै यहाँका निकायहरूले नेपाली समुदायलाई सतर्क रहन आग्रह गर्दै आएका थिए।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।