समाजिक फीड-
जनकपुरधाम, असोज १ गते ।
बाराको राष्ट्रिय वन क्षेत्रमा आम नागरिकको आवतजावत निषेध गरिएको छ । बाघसहितका वन्यजन्तुको आक्रमणमा परी केही व्यक्तिको मृत्यु भएपछि डिभिजन वन कार्यालय, बारा (सिमरा) ले मंगलबार एक सूचना जारी गर्दै असोज १ गतेदेखि ७ गतेसम्म उक्त क्षेत्रमा प्रवेश नगर्न आग्रह गरेको हो ।
डिभिजन वन अधिकृत राजीव कुमार झाका अनुसार वन क्षेत्रको चार किल्ला तोकिएपछि सो क्षेत्रमा पूर्ण रूपमा प्रवेश रोक लगाइएको छ । तोकिएका सीमा अनुसार पूर्वमा बकैया खोला, पश्चिममा वीरगञ्ज–हेटौँडा जाने त्रिभुवन राजपथ, उत्तरमा बारा–मकवानपुर सिमाना र दक्षिणमा सिमरा–बडहर्वा हुँदै कोल्हबी जाने बाटो पर्नेछ ।
निषेधित अवधिमा सो क्षेत्रमा मानिस आवतजावत गर्न, घरपालुवा जनावर लैजान, च्याउ टिप्न, दाउरा, खरघाँस, पात, सोत्तर लगायतका वन पैदावार संकलन गर्न, वा भोजभतेर तथा पिकनिक आयोजना गर्न प्रतिबन्ध लगाइएको छ । कार्यालयले नियम उल्लङ्घन गरी प्रवेश गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ । साथै निषेधित क्षेत्रमा प्रवेश गरी जनावरको आक्रमणमा परेमा त्यसको सम्पूर्ण जिम्मेवारी व्यक्तिको नै हुने स्पष्ट गरिएको छ ।
त्यस्तै, पूर्व–पश्चिम राजमार्ग र सहायक मार्ग वन क्षेत्रभित्र पर्ने भएकाले त्यहाँ सवारी साधन नरोकिने र पार्किङ नगर्न कार्यालयले अनुरोध गरेको छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।