Samajik Feed – News Portal from Nepal

समाजिक फीड-

जनकपुरधाम, भदौ ३१ गते ।

जेनजी आन्दोलनको नाममा गत मंगलबार वीरगन्ज महानगरपालिका कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटबाट करिब १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

मंगलबार महानगरपालिका सभाकक्षमा बसेको नगरपरिषद् बैठकमा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले प्रतिवेदन प्रस्तुत गर्दै आन्दोलनका क्रममा मुख्य भवनसहित विभिन्न संरचना जलेर नष्ट भएको जानकारी दिएका हुन् ।
उनले वडा कार्यालय र केही स्वास्थ्य संस्थामा पनि क्षति पुगेको र अझै विवरण संकलन भइरहेको बताए। पूर्ण प्रतिवेदन तयार भएपछि कुल क्षतिको यथार्थ तथ्यांक सार्वजनिक गरिने बैठकमा उल्लेख गरिएको छ ।

बैठकले जेनजी आन्दोलनलाई बाह्य घुसपैठमार्फत आपराधिक गतिविधि गराइएको ठहर गर्दै संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको छ।
यस्तै, चालु आर्थिक वर्ष २०८२र०८३ को बजेटलाई संशोधन गरी पुनर्निर्माणमा प्राथमिकता दिने निर्णयसमेत बैठकले गरेको हो । यसका लागि विशेष अधिवेशन बोलाउने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिए।

बैठकमा मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, वडाध्यक्ष, कार्यपालिका सदस्य र विभागीय प्रमुखहरूले तत्काल पुनर्निर्माण सुरु गर्नुपर्नेमा जोड दिए।
नगरपरिषद्ले हालको असामान्य परिस्थितिमा पनि जनतालाई अविच्छिन्न सेवा दिने प्रतिबद्धता प्रकट गरेको छ।

गत मंगलबारको घटनामा महानगरपालिका कार्यालय मात्र नभई नेपाल टेलिकम, आन्तरिक राजश्व कार्यालय, प्रहरी चौकी, राजनीतिक दलका कार्यालय, पूर्वमन्त्री र पूर्वमुख्यमन्त्रीका घर तथा मेयर सिंहको निजी निवाससमेतमा तोडफोड र आगजनी भएको थियो। कार्यालयका कागजात, फर्निचर, कम्प्युटरलगायतका सामग्री जलेर खरानी भएका छन्।
यसैबीच, घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्न सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीका बयान संकलन भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *