समाजिक फीड-
जनकपुरधाम, भदौ ३१ गते ।
जेनजी आन्दोलन चर्किंदै जाँदा सुरक्षाका लागि सेना ब्यारेकमा स्थानान्तरण गरिएका अधिकांश नेताहरूलाई हाल फिर्ता गरिएको सैनिक स्रोतले जनाएको छ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र केही नेताबाहेक अधिकांशलाई ब्यारेकबाट निकालिएको हो। यद्यपि केही नेताहरू अझै पनि सेनाको सुरक्षा निगरानीमा रहेका छन्, किनभने उनीहरूको वैकल्पिक बसोबास र सुरक्षाको व्यवस्था पूर्ण रूपमा मिलिसकेको छैन।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज मंगलबार पेरिसडाँडास्थित पार्टी कार्यालय पुगेर निरीक्षण समेत गरेका छन्। यसैबीच, विपक्षी दलहरूको बैठक सिंहदरबारमा बोलाइएको बेला प्रचण्ड, माधवकुमार नेपाललगायत नेताहरू त्यहीँ थिए। त्यसपछि सेनाले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।
निवर्तमान मन्त्रीहरूलाई पनि सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा पुर्याइएको थियो। प्रधानमन्त्री ओलीलाई भने बालुवाटारस्थित सरकारी निवासबाटै सेनाको हेलिकप्टरद्वारा अन्यत्र सारिएको थियो।
अहिले आन्दोलन क्रमशः थामिँदै गएकाले र अन्तरिम सरकार गठन भइसकेपछि सेनाले नेताहरूलाई ब्यारेकबाट फिर्ता गर्न थालेको हो। फिर्ता भएका नेताहरूलाई भीआईपी सुरक्षा कार्यविधिअनुसार कडाईका साथ सुरक्षा प्रदान गरिएको छ। विशेष जोखिममा परेका नेताहरूलाई अतिरिक्त सुरक्षा दिइएको छ।
यस आन्दोलनमा केही उच्च तहका नेताहरूका घरहरू आगजनीका कारण ध्वस्त भएका छन्। उनीहरू अहिले आफन्त वा साथीको घरमा आश्रय लिइरहेका छन् भने केहीले अस्थायी रूपमा डेरा लिएर बस्न थालेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा प्रदर्शनकारीको आक्रमणमा परेर घाइते भएका थिए। हाल उनीहरूको उपचार जारी रहेको बताइएको छ।