Samajik Feed – News Portal from Nepal

समाजिक फीड-

जनकपुरधाम, भदौ ३१ गते ।

जेनजी आन्दोलनको मौका छोपेर रामसहाय प्रसाद यादवको घरमा लुटपाट भएको छ । बाराको कलैयास्थित निवासमा तोडफोड र लुटपाट भएको उनका छोरा शत्रुधन यादवले बताए । यो घटना आन्दोलनकारीले नभई छुट्टै समूहका लुटेराले गरेको उनको दाबी छ ।

‘घरमा घुस्ने समूहले बहिनीको बिहेका लागि राखिएको गरगहना र नगद रकम सबै लगे,’ उनले भने, ‘त्यसबाहेक खेतबाट ल्याइएको धान, गहुँ, मुसुरोलगायतका अन्नसमेत जलाइदिए।’

यादवकी छोरीको बिहे आगामी मंसिर ८ गते हुने तय भएको छ। सो अवसरका लागि संकलन गरिएको रकम र किनेका गहना समेत लुटिएको पारिवारिक स्रोतले जनाएको छ।

घरमा भएको क्षतिपछि उपराष्ट्रपतिकी पत्नी चम्पादेवी यादव निकै चिन्तित बनेकी छन्। बिरामी अवस्थामा रहेका शत्रुधन यादवले भने, ‘धेरै वर्ष लगाएर तयार गरिएको घरमा राम्ररी बस्न नपाउँदै यस्तो अवस्था देख्नुपर्दा निकै पीडादायी भएको छ।’

बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा भएको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए। उनका अनुसार बाराको विश्रामपुर गाउँपालिकाको भवन र सवारी साधनसहित धेरै सार्वजनिक संरचनामा आगजनी र तोडफोड भएको छ।

निजगढ नगरपालिका, जीतपुरसिमरा उपमहानगरका कार्यालय, आन्तरिक राजस्व कार्यालय सिमरा, इलाका प्रशासन कार्यालय सिमरासहितका कार्यालय र नगरप्रमुखले प्रयोग गर्ने गाडीमा समेत क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ।

‘आगजनी गर्ने वा गराउन उक्साउने सबैलाई भिडियो तथा फोटोमार्फत पहिचान गरेर कानुनी कारबाही गरिन्छ,’ प्रहरी उपरीक्षक तामाङले चेतावनी दिएका छन्। उनका अनुसार, ‘आज कारबाही नगरे राज्यलाई भोलि अझ ठूलो दुर्घटनाले घेरिन्छ र बदलाको भावना बढ्छ।’

गत मंगलबार मात्रै जेनजी आन्दोलनका क्रममा बारामै पूर्वमन्त्री किसान श्रेष्ठ र ज्वालाकुमारी साहसहितका घरमा पनि तोडफोड र आगजनी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *