Samajik Feed – News Portal from Nepal

समाजिक फीड-

जनकपुरधाम, भदौ ३० गते ।

सिरहामा जेनजी आन्दोलनको क्रममा स्थानीयले लुटेर लगेका खाद्यन्न समाग्री फिर्ता गर्न थालेका छन । लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटिएको खाद्यान्न प्रशासनको कडा निर्देशनपछि क्रमशः फिर्ता हुन थालेको हो ।

आन्दोलनका क्रममा गत मङ्गलबार दिउँसो कम्पनीको गोदामबाट चामल र चिनी लुटपाट भएको थियो। इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार, लुटपाटले राष्ट्रियस्तरमै लहानको छवि बिगारेको भन्दै कार्यालयले कडा उर्दी जारी गरेपछि खाद्यान्न फिर्ता आउने प्रक्रिया सुरु भएको हो।

उनले भने, “फिर्ता नगरे कानुनी कारबाही हुन्छ भन्ने सूचना हामीले जारी गरेका थियौँ। सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा उपलब्ध फोटो–भिडियोका आधारमा दोषीलाई पहिचान गरिनेछ।”

उनका अनुसार स्थानीय युवाको पहलमा चामल र चिनी क्रमशः फिर्ता भइरहेको छ। आइतबारसम्म केही व्यक्तिले आफैं आएर र केहीले स्थानीय युवामार्फत खाद्यान्न फिर्ता गरेका छन्।

खाद्य कम्पनी लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोका अनुसार आइतबार बेलुका ९ बजेसम्म ७१ क्विन्टल चामल र करिब १८ क्विन्टल चिनी फिर्ता भएको छ। उनले भने, “फिर्ता गर्ने व्यक्तिको इज्जतको ख्याल गर्दै नाम भने गोप्य राखिएको छ।”

विवरणअनुसार, चार वटा गोदाममा भण्डारण गरिएको ८ हजार १४८ क्विन्टल चामल, ३ हजार २२० क्विन्टल चिनी, ५३ क्विन्टल २१ किलो धान र ९८ हजार ८१५ थान जुटका बोरा लुटिएका थिए। यसको अनुमानित मूल्य करिब रु १० करोड ९१ लाख २२ हजार ८२७ रहेको छ।

महतोका अनुसार, खाद्यान्न सुरक्षित राख्न प्रयोग हुने विशेष प्रकारका ‘फ्युमिगेसन सिट’ पनि लुटिएको छ, जुन अत्यन्तै भारी हुने भएकाले उठाउन कम्तीमा १० जनाको आवश्यकता पर्छ। यस्तो सिट खाद्य कम्पनीमा मात्र उपलब्ध हुने जनाइएको छ।

लुटपाटको क्रममा कार्यालय परिसरमा राखिएका कार र मोटरसाइकलमा आगजनी गरिएको थियो। त्यस्तै, खाद्यकर्मीको क्वार्टरबाट ल्यापटप, मोबाइल र खाना पकाउने दुई ग्यास सिलिन्डरसहित अन्य सामग्री पनि लुटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *