Samajik Feed – News Portal from Nepal

समाजिक फीड-

जनकपुरधाम, भदौ २९ गते ।

जेन–जी आन्दोलनको क्रममा जलेको जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय पुनः सञ्चालनमा ल्याउन कम्तीमा एक महिना लाग्ने भएको छ । आन्दोलनका क्रममा गत मंगलबार उपमहानगरको पाँच तले भवनमा प्रदर्शनकारीले आगजनी गर्दा जलेर पूर्ण रूपमा भवन क्षतिग्रस्त भएको हो ।

आगजनीपछि उपमहानगरका अधिकांश शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको हो । उपमहानगरका प्रवक्ता परमेश झाले आगजनीका कारण कागजातदेखि धेरैजसो विद्युतीय सामग्रीसमेत लुटिएका वा नष्ट भएकाले तत्काल कार्यालय सञ्चालन असम्भव भएको बताए ।

झाका अनुसार कार्यालयमा वितरणका लागि राखिएका करिब २०० ग्यास सिलिण्डरमध्ये ७८ वटा विस्फोट हुँदा भवनको पछाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको हो ।
उपमहानगरको भवनमा प्रमुखको कार्यकक्ष, अभिलेख शाखा र लेखा शाखाबाहेक अन्य सबै शाखा नष्ट भएको उनले जानकारी दिए ।

झाका अनुसार तत्काल कम्प्युटर, प्रिन्टरलगायत आवश्यक सामग्री पुनः खरिद गर्नुपर्ने अवस्था रहेको छ । सरसफाइदेखि सामग्री खरिदसम्मका कामलाई छिटो सुरुवात गरे पनि कम्तीमा एक महिना समय लाग्छ,’ उनले भने ।

आगजनीमा उपमहानगरको कार्यालय परिसरमा रहेको एउटा एम्बुलेन्स, दुई वटा गाडी र करिब आधा दर्जन मोटरसाइकल जलेर नष्ट भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *